Nic Ad Nic Ad
Nic Ad Nic Ad

तालिबानले भन्यो– अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ

सोमबार, असार ११, २०८०

तेलुसिगाल्पा– अफगानिस्तानका तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । 

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्युजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरीे इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन् । 

मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, ‘जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं ।’

उनले तालिबान नेतृत्वमा मुलुकको आर्थिक पतन र सङ्कटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरे ।  

तालिवानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देह आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताए । 

उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भने, ‘देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनीरूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ ।’

‘यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,’ अखुन्दजादाले भने । 

महिला अधिकारका सम्बन्धमा उनले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरे । 

‘यसबाहेक, इस्लामी शरिया कानुन अनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन्,’ उनले भने, ‘विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेशाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन् ।’
 
उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन । 

अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्