भारतको संसदमा राखिएको नक्सा अशोककालीन हो, राजनीतिक होइन : परराष्ट्रमन्त्री साउद
काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपालको भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्यामा आपसी समझदारी खोज्ने सहमति भारतसँग भएको जानकारी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिर्दै मन्त्री साउदले सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमण निकै फलदायी भएको दावी गर्दै नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिनेगरि अघि बढ्न समझदारी भएको बताए ।
त्यस्तै उनले भारतको संसदमा राखिएको नक्साका बारेमा भारतीय परराष्ट्रमन्त्रीसँग कुरा गर्दै अशोककालीन चित्र भएको र यो राजनीतिक नभएको बताएको जानकारी दिए । यस बिषयमा दिल्लीस्थित भारतीय दूतावासलाई नक्साका बारेमा बुझेर सरकारलाई जानकारी गराउन निर्देशन दिएको उनले बताए । मन्त्री साउदले सार्कलाई गतिशील बनाउन सरकार लागिपरेको उल्लेख गरे ।
उनले गैरआवासीय नेपालीको लगानीका लागि परराष्ट्रले सहजीकरण गर्दै आएको, राहदानी सेवालाई सहज बनाएको बताए ।