सत्ता गठबन्धनको सरकार पाँच वर्ष चल्छ : कांग्रेस नेता निधि
काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष चल्ने दावी गरेका छन् ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न सुझाव दिए ।
उनले कुनै हालतमा गठबन्धन नटुट्नेसमेत स्पष्ट पारे । निधिले पाँच वर्ष संगै हिडेपनि ०८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागतका गर्नका लागि सवैले ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै उपलब्धीलाई संस्थागत नसके गठबन्धन, समाजवादी मोर्चा लगायत सबै निरर्थक रहने जिकिर गरे ।
निधिले उमेरको बहस गर्नुभन्दा पनि बिचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्न सुझाव दिए ।
कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिमा भोट ल्याउने तरिका परिवर्तन भएको भन्दै कांग्रेसका राम्रा कामको प्रचार भए ०८४ को निर्वाचनमा चूनाव जित्न कसैसँग गठबन्धन गर्न नपर्ने बताए । उनले कांग्रेसको क्रियाशिल सदस्यता लिन चाहने सवैलाई प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।