फिफा वरीयतामा नेपालको स्थान खस्कियो
काठमाडौँ– विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपाल खस्किएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
नेपाल १७४ औँ स्थानबाट १७५औँ स्थानमा झरेको छ ।
भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित हुँदै नेपाल एक खेलअघि नै बाहिरिएको थियो ।
अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि १–० को सान्त्वना जित निकालेको थियो ।
दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १०० औँ स्थानमा छ ।
यस्तै माल्दिभ्स १५४ औँ स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४ औँ स्थानमा उक्लेको छ ।
साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२ औँ स्थानमा यथावत छ ।
पाकिस्तान २०१औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७ औँ स्थानमा छ ।
फिफा वरीयतामा विश्वविजेता र्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् ।