Nic Ad Nic Ad
Nic Ad Nic Ad

केहि संरचनात्मक परिवर्तन भएपनि क्रान्ति सम्पन्न हुन बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी

बिहीबार, असार १४, २०८०

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छन् ।

जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिक रुपमा केहि संरचनात्मक परिवर्तन भएपनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको र समाज रुपान्तरणको अभिभारा पुरा गर्न पनि धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी हुन् । 

उनले जनताको बिचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा रहेको भन्दै अविचलितरुपमा समाजको रुपान्तणका लागि अघि बढिरहने जिकिर गरे । उनले भोकमरी र गरिबी नहटेसम्म विकास र मानवअधिकारले कुनै सार्थकता नपाउने धारणा राख्नुभयो । ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताए ।

कार्यक्रममा मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार  हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरिएको थियो । पुरस्कारमा जनही एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्