भारतले कुवेतसँग फाइनल खेल्ने
काठमाडौं - साबिक विजेता भारतले १४औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनलमा कुवेतको सामना गर्ने भएको छ ।
भारतले शनिबार बेंग्लोरमा भएको दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । लेबनान र भारतले निर्धारित र थप समयमा गोलरहित बराबरी खेलेका थिए । यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशमाथि कुवेतले १–० ले हराएको थियो ।
यसपटकको साफ च्याम्पियनसिपमा कुवेत र लेबनान आमन्त्रित राष्ट्रका रूपमा सहभागी भएका हुन् । कुवेतले पहिलोपटकको सहभागितामै फाइनल स्थान पक्का ग¥यो । लेबनान भारतसँग टाइब्रेकरमा पराजित हुँदा अन्तिम दुई स्थानमा पुग्नबाट वञ्चित भयो । भारतले साफ च्याम्पियनसिप आठपटक जितेको छ । यसअघि, कुवेतले बंगलादेशलाई अतिरिक्त समयमा हराउँदै फाइनल स्थान बनाएको हो । कान्तिराव रंगशालामा भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशविरुद्ध १०५ मिनेटमा एक मात्र गोल गरेको थियो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले विजयी गोल गरेका थिए ।
निर्धारित ९० र थप भएको ३० मिनेटमा कुवेत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । कुवेतले प्राप्त एक मात्र अग्रताका साथ पहिलोपटकको सहभागीमै फाइनल स्थान पक्का गरेको हो । बंगलादेशले १४ वर्षपछि सेमिफाइनल खेलेको हो । बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना पूरा हुन सकेन । समूह ‘बी’को अन्तिम खेलमा भुटानमाथि ३–१ को पुनरागमन जित निकाल्दै बंगलादेशले सन् २००९ पछि साफ च्याम्पियनसिपको अन्तिम चारमा पुगेको थियो ।