Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री

आइतबार, असार १७, २०८०

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८०माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा. महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे । उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरे ।

मन्त्री डा. महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे । विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उनले जानकारी गराए ।

विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा. महतले बताए ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्