Nic Ad Nic Ad
Nic Ad Nic Ad
ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : तत्कालीन नापी सर्वेक्षक कार्कीसहित ३ जना पक्राउ

आइतबार, असार १७, २०८०

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई  पक्राउ गरेको हो ।

यसअघि नै यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि उनीहरुलाईलाई गत बिहिबार नै कागज गरेर छाडिएको छ । 

पक्राउ परेका चारमध्ये तीन जनाले गत बिहिबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्च अदालतले ३ जनालाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

ललिता निवास नेपाली कांग्रेसका नेता सुवर्ण सम्शेरको दरबार हो । तर, सरकारले विसं २०२१ मा हदबन्दी लागु गरेपछि सरकारले ललिता निवासको ठूलो क्षेत्रफल अधिग्रहण गरेको थियो । तर सरकारले अधिग्रहण गरेको हालको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा विभिन्न मितिमा नीतिगत निर्णय गराउँदै अनधिकृत रूपमा व्यक्ति र संस्थाको नाममा कायम गरिएको पाइएको थियो ।

कृत्रिम मोही खडा गर्ने, गलत लिखत तयार गर्ने, सट्टाभर्ना दिने जस्ता कार्य गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्