निगमले घटायो इन्धनको भाउ, नयाँ मूल्य कहाँ कति ?
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पहिलो, दोस्रो र तेस्रो वर्ग छुट्याएर फरक–फरक मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।
तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोल, डिजेल र मट्टितेल प्रति लिटर पाँच–पाँच रुपैयाँका दरले मूल्य घटाइएको छ । काठमाडौँमा पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ ।
त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङका लागि प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ भने पहिलो वर्गमा पर्ने झापा (चारआली), विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीका लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटाइएको छ ।
त्यस्तै, निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ । साथै, एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।