आयरल्यान्डसँग २ विकेटले पराजित नेपाल आठौँ स्थानमा
काठमाडौँ– जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपालले आठौँ स्थान पाएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा मंगलबार भएको रोमाञ्चक खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित भएसँगै नेपाल आठौँ भएको हो । बलियो प्रतिद्वन्द्वी आयरल्यान्डले अन्तिम ओभरमा नेपाललाई २ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५० ओभर खेल्दै दिएको २६९ रन लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा पूरा गर्दै जित हासिल गरेको हो ।
२६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि गुल्शन झाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४२ बलमा अविजित ५७ रन जोडे । उनले ४० बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
यस्तै, ओपनर अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन जोडे । कप्तान रोहित पौडेलले २९ रन बनाउँदा ओपनर भीम सार्की २० रनमा आउट भए ।
यसैगरी, ओपनर कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७, करण केसीले ४ रन बनाउँदा किशोर महतोले अविजित १ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने ० रनमा आउट भएका थिए ।