साफ च्याम्पियनसिपको उपाधि भारतलाई
काठमाडौँ - भारतले १४ औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
मंगलबार राति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
शबैश अल खाल्दीले खेलको १४ औँ मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर कुवेतले अग्रता जोगाउन सकेन । लल्लियान्जुआला चाग्तेले ३८ औँ मिनेटमा गोल गरी भारतलाई बराबरीमा ल्याए ।
पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।
भारतले योसहित नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०६:४७
प्रतिक्रिया दिनुहोस्