जिम्बाबे विश्वकपबाट बाहिरियो, स्कटल्याण्ड र नेदरल्याण्डमध्ये एक छनोट हुने
काठमाडौँ - स्कटटल्याण्डसँग पराजित भएपछि जिम्बाबे आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सकेन । मंगलबार भएको खेलमा घरेलु टोली जिम्बाबे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । यो पराजयले उसको विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ ।
जितसँगै स्कटल्याण्डले विश्वकप खेल्ने आशा जीवित राखेको छ । अब अन्तिम सुपर सिक्स खेलमा नेदरल्याण्ड्ससँग नकआउट भिडन्त हुनेछ, जसको विजेताले विश्वकपमा स्थान बनाउँने छ । श्रीलंकाले भने विश्वकपको यात्रा तय गरिसकेको छ ।
जिम्बावेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । स्कटल्यान्डका ओपनरहरूले आफ्नो टोलीलाई स्थिर सुरुवात दिए। क्रिस्टोफर म्याकब्राइडले म्याथ्यु क्रससँग पहिलो विकेटका लागि ५६ रन जोडे। म्याथ्यु क्रसले ३८ र म्याकब्राइडले २८ रनको योगदान दिए ।
गत खेलका नायक ब्रान्डन म्याकमुलेनले पनि ३४ र जर्ज मुन्सेले ३१ रनको योगदान दिए । अन्त्यमा माइकल लिस्कको ४८ र मार्क वाटको नट आउट २१ रनको इनिङ्सले टोलीको स्कोर २३४ रनमा पुर्यायो र आयोजकहरूसामु चुनौतीपूर्ण लक्ष्य राख्यो।
लक्ष्यको जवाफमा जिम्बाब्वेको सुरुआत निकै कमजोर रह्यो, पहिलो बलमा जोयलार्ड गुम्बी आउट भए भने क्रेग इर्विनले २ रन, इनोसेन्ट केइया र सन विलियम्स १२–१२ रन बनाएर प्याभिलियन फर्के ।
इनिङ्सको सुरुवातमा आयोजकले ३७ रनमा ४ विकेट गुमाएको थियो तर यहाँबाट सिकन्दर रजाले रायन बर्लसँग ५४ रन जोडे जसमा रजाले ३४ रन बनाए तर रजाको विकेट खसेपछि जिम्बाब्वेको आशा लगभग समाप्त भएको थियो । रायन बर्लले अन्तिमसम्म हार मानेनन् र टोलीलाई लक्ष्यको नजिक पुर्याए ।
रायन बर्लले ८३ रनको उत्कृष्ट इनिङ खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । यो हारसँगै जिम्बाबे प्रतियोगिताबाट बाहिरिएको छ ।
नेदरल्याण्ड्सको भन्दा कम नेट रन रेटका कारण आयोजक टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । जुलाई ६ मा हुने स्कटल्यान्ड र नेदरल्याण्ड्सबीचको खेलको विजेता टोली २०२३ को विश्वकप खेल्ने छ ।