Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री महतको निर्देशन– राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नू 

बुधबार, असार २०, २०८०

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । आज आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ ।’

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री डा महतले निर्देशनको क्रममा भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’


डा महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने नगर्न सुझाव दिए ।
‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ,’ मन्त्री डा महतले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं । राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ । बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ ।’  
मन्त्री डा महतले भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा सबैले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ,’ उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’ 

आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा महतले बताए । ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ । अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन् । उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन बृद्धि गर्नुपर्छ,’ उनले थपे, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन । राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो । करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं । भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ । सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय हो । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन । व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्छ । यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ । विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ ।’
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्