प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय बनेको छ ।
यसअघि सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएको ६० दिनभित्र कानूनबमोजिम प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित हुनुपर्छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । बैठक अवरुद्ध भएका कारण यसअघि ल्याइएको अध्यादेश नै स्वतः निष्क्रिय बनेको हो ।
अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको हो । सो विषयमा राष्ट्रियसभाको आजको पहिलो बैठक पनि स्थगन भएको छ । विरोधका कारण बुधबार रोकिएको राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने गरी सारिएको छ । राष्ट्रिय सभाको बैठक बिहीबारसम्म सरेपछि अध्यादेश बुधबार राती नै निष्क्रिय हुनेछ ।
विवादास्पद अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री ‘प्रचण्डले राजीनामा समेत दिनुपर्ने माग गरेका छन् । विपक्षी दलहरु रास्वपा र राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
प्रधानमन्त्री ‘प्रचण्ड’ले गत सोमबार व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा उक्त विवादास्पद अभिव्यक्ति दिएका थिए । सो कार्यक्रममा उनले भनेका थिए, ‘उहाँ (सिंह)ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’