Nic Ad Nic Ad
Nic Ad Nic Ad

कसरी सुध्रियो एसइई नतिजा ?

शुक्रबार, असार २२, २०८०

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ।

samridhi jewllers

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको छ।

तर प्रयोगात्मक अङ्क दिइने विषयमा विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् भने प्रयोगात्मक अङ्क प्रदान नगरिने विषयमा धेरै विद्यार्थीले ई ग्रेड ल्याएका छन् । बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा सबैभन्दा उच्च अङ्क ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई ग्रेड दिएको छ ।

अनिवार्य र ऐच्छिक गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक अङ्क प्रदान गरिन्छ । नतिजा हेर्दा प्रयोगात्मक अङ्क प्रदान गर्न नमिल्ने भएका कारण अनिवार्य गणित विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख ५५ हजार ४५८ जनाले ई ग्रेड मात्रै ल्याएका छन् । जब कि प्रयोगात्मक अङ्क प्रदान गर्न मिल्ने भएकै कारण अनिवार्य अङ्ग्रेजी र अनिवार्य विज्ञानमा यो ग्रेड ल्याउने परीक्षार्थी क्रमशः ४०७ र एक हजार ७२१ जना मात्रै छन् । हाल कार्यान्वयनमा ल्याइएको लेटर ग्रेडिङ निर्देशिका अनुसार परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ ल्याएका अङ्कलाई जोडेर ग्रेड निर्धारण गरिन्छ । यसले गर्दा सैद्धान्तिकमा थोरै अङ्क ल्याउनेले पनि प्रयोगात्मकतर्फको अङ्कको सहयोगका कारण माथिल्लो ग्रेड ल्याएको देखिन्छ । आगामी वर्षदेखि भने हरेक विषयमा सैद्धान्तिकतर्फ अनिवार्य ३५ अङ्क ल्याउनै पर्ने व्यवस्था लागु हुँदैछ ।

नतिजा अनुसार यस पटक ३.६० देखि ४ जिपिए २२ हजार ४७५ जनाले ल्याएका छन् । यति नै जिपिए ल्याउने विद्यार्थी सङ्ख्या गत वर्ष नौ हजार ६३३ मात्रै थिए ।

त्यस्तै ३.२० देखि ३.६० जिपिए ५५ हजार ६९ जनाले ल्याएका छन् भने गत वर्ष ४१ हजार ६२७ जनाले यति नै जिपिए ल्याएका थिए । त्यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने परीक्षार्थी यस पटक ७२ हजार ३६२ छन् भने गत वर्ष ६९ हजार नौ सय थिए ।

यस पटक २.४० देखि २.८० जिपिए ल्याउने परीक्षार्थी ८९ हजार ३३१ छन् । त्यस्तै गत वर्ष ९० हजार ७५८ थिए । त्यस्तै जिपिए दुईदेखि २.४० एक लाख दुई हजार २९३ जनाले यस पटक ल्याए । गत वर्ष एक लाख १२ हजार ७३३ जनाले यति नै जिपिए ल्याएका थिए ।

त्यस्तै १.६० देखि दुई जिपिए ल्याउने परीक्षार्थी यस पटक ८८ हजार ४४७ जना छन् । गत वर्ष एक लाख पाँच हजार ९४ जनाले यति नै जिपिए ल्याएका थिए । जिपिए १.२० देखि १.६० ल्याउने परीक्षार्थी यस पटक ३८ हजार ७७० छन् भने गत वर्ष यति नै जिपिए ल्याउने ४४ हजार ५८६ थिए ।

अन्तिम ग्रेड अर्थात् जिपिए ०.८० देखि १.२० ल्याउने परीक्षार्थी यस पटक दुई हजार दुई सय छन् । यस वर्ष यही ग्रेड समूहका परीक्षार्थी तीन हजार २८० थिए । यस पटकको नतिजामा सुधार आउनुमा तीन वटा कारण मुख्य रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनका अनुसार विगतका वर्षहरूमा कोभिड १९ का कारण विद्यार्थीको पढाइमा समस्या भएकाले नतिजा पनि प्रभावित थियो । यस पटक भने विद्यार्थीले भौतिक रूपमै कक्षामा गएर पढ्न पाएकाले सिकाइमा पनि सुधार भएको र त्यसको सकारात्मक नतिजा परीक्षामा देखिएको शर्माकाे दाबी  छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्