नेभिगेशन
समाज विविध

पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य 

ढोरपाटन– अविरल वर्षाका कारण आएको पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

    पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ ।

    विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए ।  स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उनले बताए । 

             “अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,” उपप्रमुख कायतले भने, “बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ ।” बर्खाको समयमा पटक–पटक बाढीपहिरोले दुःख दिँदै आएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध