Nic Ad Nic Ad
Nic Ad Nic Ad

सवारीको ठक्करबाट २ हरिणको मृत्यु

सोमबार, असार २५, २०८०

पथरी– मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । 

आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो ।

पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए । कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताउनुभयो । पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो । एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन् । 

सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन् । चार वटा दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्याङ्क छ । जङ्गली क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए ।

पछिल्लो समय मानिसमा जनचेतनाको कमी हुनु, जङ्गलमा आगो लगाउनु र सिकारी बढ्न थालेपछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरन क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरी सिकारी र दुर्घटनामा कडाइ नहुँदा यस्तो घटना बढ्दै गएको छ । –रासस

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्