मृत्यु हुने ६ जनाकै सनाखत : नेपाली पाइलट गुरुङ र एकै परिवारका ५ मेक्सिकन
काठमाडौँ– मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाको नै सनाखत भएको छ ।
हेलकोप्टरमा एक नेपाली पाइलट र ५ जना मेक्सिकन नागरिक रहेका थिए । मेक्सिकन नागरिक एकै परिवारका रहेको नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईले जानकारी दिए ।
दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूष एकै परिवारको भएको खुलेको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाली पाइलट चेतबहादुर गुरूङ छन् ।
दुर्घटनामा मृत्यु हुने मेक्सिकन नागरिकहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरू दुई जना आमा–बुवा र तीन जना छोराछोरी हुन् ।
अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल घुम्न आएका थिए।
उक्त हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो ।
पछि लाम्जुरापास डाडाँमा दुर्घटना भएको भेटिएको थियो ।
दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।
सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।