Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लङ्घनमा विशेष निगरानी

मंगलबार, असार २६, २०८०

काठमाडौँ– प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ ।

वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष छन् । बस्नेत सञ्चारीका समूहका पूर्वअध्यक्ष हुन् ।

छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ । 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारजगत्लाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

“सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो र यो एक शृङ्खला मात्र हो”, विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले भनिन् ।

एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो । 

अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहेका काउन्सिलका बोर्ड सदस्यद्वय दीपक पाण्डे र ठाकुरप्रसाद बेलबासे सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्