प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनकी पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रधानमन्त्री प्रचण्डसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीताले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।
पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।
प्रधानमन्त्री प्रचण्डका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् । सीताको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।