प्रचण्ड लक्षित बाबुरामकाे टिप्पणी : पटक–पटक गल्ती गर्नेलाई साथ दिन सकिँदैन
गोरखा - नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना दलका नेताहरूले पटक–पटक गरेको गल्तीलाई साथ दिन नसकिने बताएका छन्।
पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योर्ती चौतारामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले ठूला नेता आएर प्रतिनिधित्व गरिसकेपछि तीव्र रूपमा काम होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको बताएका हुन्।
उनले गाेरखाबाट पुष्पकमल दाहाल प्रचण्डलाई जिताएर पठाएपनि जनअपेक्षालाई वेवास्ता गरेको आरोप समेत लगाए।
अध्यक्ष भट्टराईले भने, ‘हामीले जसलाई अत्यन्त सदभाव राखेर यो ठाउँमा लिएर आएर, जिताएर पठायौँ । उहाँमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ भन्ने उखानको जस्तो प्रवृत्ति देखियो । देश र जनताको यत्रो समस्या छ, पूर्वाधारका काम पूरा गर्न बाँकी छन्, विकासको सपनामा यत्रो आकांक्षा छ, युवाहरू रोजगारीको अभावमा विदेश पलायन भएको भयै छन्, ठूला नेता आएर यहाँ प्रतिनिधित्व गरिसकेपछि काम तीव्रतामा जाला भन्ने अपेक्षा थियो, त्यतापट्टि ध्यान छैन, सत्ता बनाउन र चलाउन, चलखेल गर्न, बिचौलियाको जालमा फस्ने उहाँहरूको संकेत देखिरहेको छु, यो अन्त्यन्त गम्भीर छ ।’