Nic Ad Nic Ad
Nic Ad Nic Ad
एसिसी इमर्जिङ एसिया कप

नेपालले भारत ‘ए’लाई जितका लागि १६८ रनको लक्ष्य दियो

सोमबार, साउन १, २०८०

काठमाडौँ– श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका प्रहार गर्दै ६५ रन बनाएका हुन् । 

त्यस्तै गुलसन झाले ३० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए । 

यसैगरी सोमपाल कामीले १४ रन जोडे भने देव खनालले १५  तथा आसिफ शेखले सात रन बनाए । बलिङतर्फ भारत ‘ए’ का लागि निशान्त सिन्धुले चार विकेट लिए भने राजवर्धन हङ्गागेकारले तीन विकेट झारे । त्यस्तै हर्षित रानाले दुई विकेट लिँदा  मानव सुथारले एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल  पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । यता भारतले युएई ‘ए’ लाई आठ विकेटले हराएको थियो ।

यसअघि नेपालमा आयोजना भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत भने स्वतः छनोट भएको हो । यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्