Nic Ad Nic Ad
Nic Ad Nic Ad

'वर्ल्ड च्याम्पियनसिप'मा नेपालका ४ खेलाडीले भाग लिने

मंगलबार, साउन २, २०८०

काठमाडौँ– जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । 

सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा सञ्जय शाह छन् । नेपाल पौडी सङ्घका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउनेछन् ।

उक्त च्याम्पियनसिपअन्र्गत यही साउन ७ गते नासिरले चार सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । 

सोही दिन नासिरले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । साउन ९ गते डुवानाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले एक सय  मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । ११ गते डुवानाले एक सय मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली टोली भोलि जापान प्रस्थान गर्नेछन् । –रासस

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्