Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी

सुन तस्करीका बिचौलिया विमानस्थल सुधारक !

आइतबार, साउन ७, २०८०

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेपछि विमानस्थल सुरक्षाको विषयलाई लिएर गम्भीर प्रश्नहरू उठेका छन्।

पर्यटन मन्त्रालयअन्तर्गतको विमानस्थलमा भन्सार, अध्यागमन, प्रहरीलगायत सरोकारवाला र सहयोगी निकाय भए पनि त्यहाँबाट बारम्बार हुने अवैध कारोबारका कारण सुरक्षासम्बन्धी प्रश्नहरू उठेका हुन्। प्रहरीका विभिन्न अध्ययन प्रतिवेदनले नेपाल हुँदै भारततर्फ तस्करी हुने सुनमा नेपाली व्यापारीले बिचौलियाको काम गर्ने र त्यसका लागि भन्सार, प्रहरीलगायत निकायमा ‘सेटिङ’ गर्न पनि तिनै व्यापारी र बिचौलियाको भूमिका रहेको देखाएका छन्।

अन्तर्राष्ट्रिय सीमाको पहिलो गन्तव्य भएका कारण विमानस्थलको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने भए पनि लापरबाही गरेको पाइएको छ। खासगरी त्यहाँको आगमन कक्ष, पार्किङ व्यवस्थापन विवादास्पद व्यक्तिले सञ्चालन गरिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरूका लागि सहज आगमन, गाडी पार्किङ क्षेत्र, यात्रु मार्ग, यात्रु प्रतीक्षा कक्षलगायत निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले पाएको छ। यसमा निर्माण व्यवसायी कम्पनी रसुवा कन्स्ट्रक्सन पनि जोडिएको छ। रसुवा कम्पनीका मालिक सांसद मोहन आचार्य हुन्।

२०६७ सालमा मल्होत्रा, विमल पोद्दार र आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई सरकारले निर्देशन दिएपछि सुरक्षा निकायको ध्यान आकृष्ट भएको थियो।

विमानस्थलमा व्यापारी मल्होत्रा अहिले मात्र जोडिएका होइनन्। उनी २०५५ सालअघिबाटै त्यहाँ जोडिएका हुन्। पछिल्लो समय तस्करी भइआएको सुनमा आफ्नो कुनै संलग्नता नभएको र त्यसमा आफूलाई नियमतवश जोडिएको दाबी गरिरहेका मल्होत्राले विमानस्थलको ठेक्का लिँदा सुरक्षा निकायले सरकारलाई मौखिक रूपमा पटकपटक तिनलाई ठेक्का नदिन र दिए विमानस्थलमा सुरक्षा थ्रेट हुने जनाएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्