बंगलादेशमा बस खस्दा १७ यात्रुको मृत्यु
ढाका - बंगलादेशको छत्रकांडा क्षेत्रमा शनिबार बस पोखरीमा खस्दा ३ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ।
त्यस्तै, ३५ जना घाइते भएका छन् । चालकको लापरवाहीका कारण यो दुर्घटना भएको घाइतेहरुले आरोप लगाएका छन्। उनीहरुका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार रहेका थिए।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार ५२ क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए। पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको हाे।
बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको जनाइएको छ। मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० ०९:५३
प्रतिक्रिया दिनुहोस्