Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशबाट फर्केपछि मादल बनाएर वार्षिक ३ लाखभन्दा बढी आम्दानी

मादलको आकारअनुसार १ हजार ८ सयदेखि २ हजार ५ सयसम्ममा बिक्री
आइतबार, साउन ७, २०८०

स्याङ्जा– बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

बुबासित मादल बनाउने काम गर्दागर्दै जागिरको खोजीमा विदेश पुगेका उनी विदेशको बसाइलाई बिट मार्दै फेरि मादल बनाउने पेसामै फर्किएका छन् । हाल उनी यसैलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजनाका साथ सक्रिय छन् ।

'बुवासँगै मादल बनाउन सिक्दै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ', कमलले भने, 'पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।'

राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका कमललाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । ४ लाख लगानीमा व्यवसाय सुरु गरेका उनले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेको बताए । नयाँ मादल बनाउनुका साथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरिरहेका छन् ।

'अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ', उनले भने, 'यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरू स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।'

मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए । मादलको आकारअनुसार १ हजार ८ सयदेखि २ हजार ५ सयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कमलले कामदारको प्रयोग गर्दै आएका छन् ।

'विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ', उनले भने, 'विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।' -रासस

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार
छाला नपाउँदा मादल बनाउन समस्या
शुक्रबार, कात्तिक ३०, २०८१