नेभिगेशन
सुरक्षा–अपराध

औषधि पसल अनुगमन गर्न गएका टोलीलाई व्यापारीले थुने

तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित

इनरुवा– औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् ।

मेडिकल पसल सञ्चालकसहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् ।

गृहको पत्रअनुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायी सहितका ब्यापारी आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुर्व्यवहार नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नुपरेको थियो ।

औषधी व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्‍याएको थियो । सो पश्चात समेत ब्यापारी समूहले बजार क्षेत्रमा प्रर्दशन जारी राखे । उनीहरुले ओषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् ।

प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैली उपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिकृया दिए । उनले अनुगमनमा सहभागि जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए ।

उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिकृया दिएका छन् ।

उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए । खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कार्यावहीको प्रकृयामा ल्याउने बताए ।

यता, घटना पश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानविन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध