नेकपा समाजवादीले एमसीसीबारे सरकारसँग जवाफ माग गर्ने
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्था सरकारसँग जवाफ माग गर्ने निर्णय गरेको छ ।
काठमाडौँको पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातासम्म चलेको पार्टी केन्द्रीय सचिवालयको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालय तीनकुनेमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणा अनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठनका लागि आवश्यक पहल गर्ने समेत निर्णय उनले बताए ।
बैठकले समाजवादी मोर्चाका दलबीच मतभिन्नता भएपनि साझा बुँदामा सहमति जनाउने पनि निर्णय गरिएको छ । त्यस्तै, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपंक्तिलाई प्रष्ट पार्ने पनि बैठकले निर्णय गरेको छ । बैठकले हालैका दिनमा सरकाले भ्रष्टाचारविरुद्ध देखाएको सक्रियताले जनताका आशा जगाएको भन्दै भ्रष्टाचारबिरुद्धको अनुसन्धान तथा कारवाही कुनै पनि बहानामा नरोक्न पनि जोड दिएको खतिवडाले बताए ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले सुन तस्करीबारे सरकारका सबै अंग सक्रिय हुनु पर्ने बताए । उनले सुन काण्डमा सरकारको एउटा अंग कमजोर भएको देखिएको र अर्को अंग तत्काल कारबाही गर्न सफल भएको देखिएकाले यस्ता विषयलाई कारबाही गर्ने सरकारका सबै अंग चुस्त दुरुस्त हुनुपर्ने बताए ।
सचिवालय बैठकले प्रदेश नंवर १ को नाम कोशी प्रदेश राखिएपछि उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न पनि आह्वान गरेको छ ।