दरबार हत्याकाण्ड प्रसङ्गमा चिप्लिए एमाले अध्यक्ष ओली, अहिलेसम्मको तथ्य के हो?
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली एउटा अप्रासाङ्गीक विषयमा चिप्लिएका छन्। सार्वजनिक कार्यक्रममा उनले १९ जेठ २०५८ मा भएको राजा वीरेन्द्र शाहको वंशनाश हुने दरबार हत्याकाण्डका विषयमा टिप्पणी गर्दा चिप्लिएका हुन्।
यस विषयमा केही पुस्तक र एक प्रतिवेदनबाहेक केही पनि खुलासाका रुपमा आएको छैन। तर, उनले सत्ता स्वार्थको सन्दर्भमा उक्त प्रसङ्ग कोट्याउँदा चिप्लिनेगरी अभिव्यक्ति दिएका थिए।
अहिलेसम्म पत्ता लाग्न नसकेको उक्त प्रकरणको खास तथ्यको खोजी अहिले पनि हुने गरेको छ। तत्कालिन सभामुख तारानाथ रानाभाट नेतृत्वको प्रतिवेदनले तत्कालिन युवराज (दुई दिनका लागि राजा घोषित)ले नै सबैलाई मेसिन गञ्जले गोली हानेको जनाएको थियो। त्यसयता गणतन्त्र घोषणापछि कति सरकार बने तर कसैले पनि छानबिन गरेनन्। ओली नै तीन पटक प्रधानमन्त्री बन्दा पनि यस विषयमा कुनै चासो नदिएका उनले एकाएक अप्रासाङ्गीक अवस्थामा हालै मात्र भने,‘दरबार हत्याकाण्ड आफन्तले गराए। कसले गरायो? घरभित्रको मानिसले गरायो। कति निर्मम हुँदो रहेछ सत्ताको स्वाद? दीपेन्द्रले दाहिने हातले पेस्तोल चलायो अरे, मरेकै मानिसलाई दोष थोपरिदिए।’
यस विषयको अधिक जानकारी राखेका शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ बर्षपछि ‘दरबारको दुखान्त’ नामको पुस्तकमार्फत केही संकेत गरेका थिए।
नारायणहिटी राजदरबारभित्रको त्रिभुवन सदनमा गोली चलेपछिको अवस्थाबारे उनले पुस्तकमा उल्लेख गरेका छन्,‘पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ । दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो। त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो।’
पुस्तकको निचोडका रुपमा उनले पनि दीपेन्द्रबाट नै हत्या भएको हुन सक्ने संकेत खुलाएका थिए। उनले अगाडि स्मरण गरेका छन्-
म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आपूmलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्व थियो। मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो ।बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो ।
सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ?
त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ । के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपथ्र्यो, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ ।
उनले पनि घटनाबारे स्पष्ट हुन नसकेको उल्लेख गरेका थिए। तर, ओलीले भने यस विषयलाई सत्ताको लोभसँग जोडेर टिप्पणी गरिदिए। उनको टिप्पणीले एउटा प्रतिप्रश्न खडा गरेको छ,‘त्यसो भए प्रधानमन्त्री भएका बेला किन छानबिन नगरेको त? राजनीतिक टिप्पणी मात्र गरेर हुन्छ?’