Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाईसीएल नेता पुलामी समूहले डेढ करोड बढीको सम्पत्ती हडप्यो, माओवादी कार्यालयमा पीडितको उजुरी

मंगलबार, साउन १६, २०८०

इटहरीनेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)का कोसी प्रदेशका अध्यक्ष डम्बर पुलामीलगायतको समूहले पार्टी कार्यकर्ताकै डेढ करोड बढीको सम्पत्ति हडपेर धम्की दिन थालेको रहस्य खुलेको छ।

झापाको विर्तामोडका गीतादेवी भट्टराई तिवारी र राजेन्द्र तिवारीको करोड बढीको जग्गा हडपेर पुलामी समूहले पैसा दिनुपर्नेमा धम्की दिएर त्रसित बनाउने गरेको उजुरी माओवादी पार्टी कार्यालयमा परेको छ।

आफूलाई परेको समस्याको कारण खुलेको विवरणसहित गुन्डागर्दीविरुद्ध पीडितले माओवादी प्रदेश कमिटी कार्यालय कोसीमा उजुरी गरेका छन्। उक्त उजुरीको बोधार्थ वाईसीएलको केन्द्रीय कार्यालयमा पठाइएको छ। 

ycl1690889358.jpg

ycl 21690889381.jpg

पुलामीको समूहले तिवारी दम्पत्तीको मोरङको सुन्दर हरैंचा नगरपालिका बेलगाछीमा रहेको ५ कठ्ठा ५ धुर जमिन सस्तो मुल्यमा बेच्न लगाएर त्यो रकम पनि जबरजस्ती हडपेका छन्।

यति मात्र नभई सोही जग्गाको रेखदेख गरेका रमेश विकलाई तिवारी परिवारले दिनुपर्ने एक कट्ठा जग्गा पनि पुलामीले नै सरकारी अड्डामा मिलोमतो गरी कब्जामा राखेको खुलेको छ।

उजुरीमा उल्लेख छ,‘मेरा नाममा श्रेष्ता कायम रहेको ५ कट्ठा ५ धुर जग्गा नेपाल इन्भेस्टमेन्ट बैंक उर्लाबारीमा राखी ३० लाख कर्जा लिएको अवस्था थियो। सो मध्यबाट आपसी सहमतिमा रमेश विकलाई एक कट्ठा दिनुपर्ने थियो। विर्तामोड निवासी राजन निरौलाबाट समेत केही रकम लिएको हुँदा २०७७ साउनभरमा निरौलालाई ३० लाख दिनुपर्ने अवस्था भयो। त्यसैका लागि ४ कट्ठा ५ धुर बेच्ने स्थिति आयो।

उक्त जग्गाको मुल्य अधिक भए पनि एक करोड ६५ लाख मात्र मुल्य गरी दमक निवासी यसु बुढाथोकीलाई जग्गा दिने सहमति बनेको थियो। त्यो सहमति भाँड्दै पुलामीसहित माओवादीका स्थानीय नेता राजु आचार्य, र गणेश मगरको समूहले एक करोड १५ लाखमा नै हत्याउन दबाबपूर्ण सहमति कायम गराएको विवरणले पुष्टि गर्छ।

बुढाथोकीलाई जग्गा दिन हुन्न, सञ्जय पौड्याललाई दिँऔं। त्यसको सबै जिम्मेवारी हाम्रो हुन्छ भनी पुलामीको समूहले भन्यो, उजुरीमा उल्लेख छ।

राजु आचार्य र पुलामीको भर पर्दा उक्त जग्गा एक करोड १५ लाखमा दिने दबाबपूर्ण सहमति गर्न तिवारी दम्पत्ती बाध्य भए। माओवादी पार्टीको जिम्मेवार पदमा रहेका कारण यो सहमति गर्नका लागि तिवारी दम्पत्ती तयार भए।

यसपछि यो समूहले तत्काल ४० लाख दिने र बाँकी चेक दिने अर्को चाल चलेको थियो। तर पीडितले नमान्दा ३० लाख लिनुपर्ने राजन निरौलालाई मनाउने जिम्मा राजु आचार्यले दिए। र, सञ्जय पौड्यालकी श्रीमति सोनी तामाङको नामबाट चेक काटेर पीडितलाई दिइएको उजुरीमा उल्लेख छ।

१५ साउन ०७७मा १५ लाख, १५ असार ०७८ को अर्को चेक ३५ लाख पीडितका नाममा र पीडितले रकम दिनुपर्ने निरौलाका नाममा पनि १५ पुस ०७७ को चेक दिएर आचार्य र पुलामीको समूहले थमाएको उजुरीमा उल्लेख छ।

दबाबमा परेको पीडित दम्पत्तीले २८ असार ०७७ मा जग्गा सोनी तामाङको नाममा गरेका थिए। बाँकी रहेको १ कट्ठा जग्गा रमेश विकलाई पास गरिदिने पूर्वसर्तअनुसार गर्नुपर्ने थियो। तर, पुलामीले एक कट्ठा जग्गा दिए पनि ७ धुर आफूहरुलाई आउने भनी तिवारी दम्पत्तीलाई फकाई पुलामीले जिल्ला अदालत झापाबाट वारेसनामा लिएका थिए। तर, त्यो पनि जग्गा पास नगरी अझ प्रताडित पारिएको उजुरीमा उल्लेख छ।

तर यो समूहले तिवारी दम्पत्तीलाई सुरुमा दिने भनेको ४० लाख पनि पटकपटक गरेर ३८ लाख ६६ हजार मात्र दिएका थिए। सोनी तामाङको नामबाट दिएको १५ लाखको चेक पनि फर्जी भेटियो भने राजन निरौलालाई सोही समूहले दिएको २५ लाखको चेक पनि बाउन्स भएको थियो।

यस्तै, पीडितलाई नै दिएको ३५ लाखको चेक पनि बाउन्स भएको थियो भने रमेश विकलाई अहिलेसम्म पनि जग्गा पास नगरेपछि पुलामीलगायतको समूहलाई सोध्दा डर धम्की दिएको उजुरीमा उल्लेख छ।

  

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्