नाइजरको जुन्टा प्रतिनिधिमण्डल मालीमा
डकार– गत हप्ता नाइजरमा सत्ता कब्जा गर्ने अधिकारीमध्येका एक जनरल सलिफोउ मोडी बुधबार छिमेकी देश माली पुगेका छन् ।
उनको सैन्य प्रशासन (जुन्टा)ले अन्तर्राष्ट्रिय दबाबका बाबजुद ‘कू’बाट नाइजरको नेतृत्व गरेको घोषणा गरेका सैनिक नेताहरूलाई समर्थन गरेको स्रोतले जनाएको छ ।
नाइजरका एक वरिष्ठ अधिकारी र मालीका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार गत अप्रिलमा बर्खास्त गरिएका पूर्व सेनाप्रमुख मोडी एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजधानी बामाको पुगेका थिए । उनीहरूले भ्रमणबारे थप विवरण भने दिएका छैनन् ।
नाइजरको जुन्टा अन्तर्राष्ट्रिय समुदायको दबाबमा परेको छ भने ‘इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास)’ ले आइतबारसम्म अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्बहाली नगरे बल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।
इकोवासका सदस्य राष्ट्रका सैन्य प्रमुखहरुबीच बुधबार नाइजेरियामा तीन दिने छलफल हुने भएको छ । नाइजेरियाका पूर्व राष्ट्रपति अब्दुलसलामी अबुबकरको नेतृत्वमा एक प्रतिनिधिमण्डल पनि बुधबार नाइजर आउने अपेक्षा गरिएको छ ।
सन् २०२० र २०२२ मा सत्ता कब्जा गरेका माली र बुर्किना फासोका सत्तारुढ जुन्टाहरूले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै नाइजरमा सैन्य हस्तक्षेपलाई आफ्नै देशविरुद्ध ‘युद्धको घोषणा’ का रूपमा लिने चेतावनी दिएका छन् ।
साहेलका तीनै देश जिहादी विद्रोह र असुरक्षाको चपेटामा परेका छन् ।