Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशका विपक्षी नेता रहमानलाई भ्रष्टाचारमा ९ वर्षको जेल सजाय

बुधबार, साउन १७, २०८०

ढाका– बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार ९ वर्षको जेल सजाय सुनाइएको छ ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई ३ वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले बताए । 

खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ भने उहाँकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।”

बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै तारिक रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीहरूले गत वर्षदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । 

वरिष्ठ प्रहरी अधिकारी रशानुल हक सैकतका अनुसार रहमानदम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब एक हजार बीएनपी समर्थकले ¥याली निकालेका थिए ।

पश्चिमा सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । यहाँ सत्तारुढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पको रूपमा ‘भर्चुअल’ रूपमा सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन् । 

सन् २००८ देखि लण्डनमा बस्दै आएका तारिक रहमानलाई सन् २००४ मा तत्कालीन विपक्षी नेतृ हसिनाको समर्थनमा आयोजित राजनीतिक र्यालीमा २० जनाभन्दा बढीको ज्यान जाने गरी भएको ग्रेनेड आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१८ मा आजीवन काराबासको सजाय सुनाइएको थियो । रहमानकी आमा खालिदा जिया त्यतिबेला प्रधानमन्त्री भएकी थिइन् ।

दुई पटकसम्म प्रधानमन्त्री बनेकी जियालाई सन् २०१८ मा भ्रष्टाचारको दुई छुट्टाछुट्टै मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनको अनुपस्थितिमा तारिक रहमानले बेलायतबाट पार्टीको नेतृत्व गर्दै आएका छन् । 

राजनीतिमा संलग्न नरहेकी जुबैदा पेशाले चिकित्सक हुन् । उनलाई यस पहिले कहिल्यै सजाय दिइएको थिएन । दोषी ठहरिएसँगै उनलाई घर फर्कन अबरोध सिर्जना भएको छ साथै यसले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य बनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्