रुस–युक्रेन युद्ध : ब्लड सेन्टर र विश्वविद्यालय पनि निशानामा
रुस र युक्रेनबीच जारी युद्धका क्रममा ब्लड बैंक, विश्वविद्यालय र उड्डन प्रशिक्षण विभागमा समेत आक्रमण भएको छ । यसअघि ब्ल्याक सीमा रुसी ट्यांकरमाथि युक्रेनले आक्रमण गरेको थियो ।
त्यसयता दुबै पक्ष एकअर्काविरुद्ध हवाई आक्रमणमा छन् । युक्रेनी अधिकारीहरुले कुपियान्स्कस्थित ब्लड सेन्टरमा रुसी पक्षले कारबाही गरेको बताएका छन् । यता, रुसले आफ्नो नियन्त्रणमा रहेको डोनेस्क क्षेत्रमा युक्रेनले विश्वविद्यालयलाई निशाना बनाएको दाबी गरेको छ ।
यसअघि चीन, भारत र अमेरिकासहित विश्वका ४० देशका अधिकारीबीच साउदी अरेबियामा युद्ध अन्त्य गर्ने विषयमा छलफल चलेको थियो । त्यसको छोटो समयमै शनिबार रातिबाट युद्ध थप पेचिलो बन्यो ।
युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले कुपियान्स्कस्थित ब्लड सेन्टरमा भएको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिए । ‘त्यहाँ मृतक र घाइते छन्,’ उनले भने । तर, मारिने र घाइते हुनेको नाम भने खुलाएका छैनन् ।