आणविक हमलाका ७८ वर्ष : हिरोसिमामा अमेरिकी आक्रमणको संझना, रुसी धम्कीको निन्दा
बिहान ८ बजेर १५ मिनेट जाँदा जापानको हिरोसिमामा झन्डै ५० हजार मानिसहरु भेला भएर एक मिनेट मौन धारण गरे । त्यसपछि विश्वशान्तिको कामना गर्दै घण्टी बजाइयो ।
आणविक हमला सहेर रेडिएशनको प्रभावस्वरुप विभिन्न स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिमध्ये गत मार्चसम्म १ लाख १३ हजार ६ सय ४९ जना जिवित थिए, उनीहरुमध्येका केही व्यक्ति समारोहमा उपस्थित भए । विशिष्ट अतिथीहरुसँगै उनीहरुले सयौंको संख्यामा सेता परेवाहरु उडाएका थिए ।
सन् १९४५ मा आजैका दिन अमेरिकाले जापानको हिरोसिमामा आणविक बम खसालेको थियो । त्यसको तीन दिनपछि नागासाकीमा अर्को बम खसालियो । यी बमहरुले निम्त्याएको क्षति र त्रासदीको वर्षौंदेखि यसरी नै संझना हुने गरेको छ ।
यस वर्ष हिरोसिमाको मात्रै चर्चा भएन,रुस-युक्रेन युद्धले निम्त्याउनसक्ने परिणामबारे पनि चिन्ता व्यक्त भयो । आकाश–समूद्र र जमिनमा रुस र युक्रेनका सैनिकहरु लड्न थालेको आज ५ सय २९ दिन बितिसकेको छ । यो लडाइँ तेस्रो विश्वयुद्धमा परिणत भएर आणविक युद्ध निम्तनसक्ने त्रास छ । किनकी, यस लडाइँमा अमेरिका र युरोपेली युनियनसहित विश्वका ४५ वटा सार्वभौम राष्ट्रले युक्रेनलाई सैन्य सहयोग उपलब्ध गराइरहेका छन् । युक्रेनलाई सैन्य सहयोग उपलब्ध गराउनका लागि पश्चिमा राष्ट्रहरूले जापानलाई पनि दबाब दिइरहेका छन् । तर, मानविय र आर्थिक सहयोग पठाएपनि जनस्तरको विरोधका कारण जापानले अहिलेसम्म युक्रेनमा हतियार पठाएको छैन ।
अर्कोतर्फ, उत्तर कोरिया, इरान, सिरिया, बेलारुसलगायत देशहरु रुसको पक्षधरता लिइरहेका छन् । चीन र भारतले कुनै पक्षधरता लिएका छैनन्, तर अप्रत्यक्ष रुपमा रुसलाई सघाइरहेका छन् । रुसी आक्रमणको विरोध नगर्ने, रुसबाट तेल र कच्चा पदार्थको आयात बढाउने चीन र भारतको नीतिले पश्चिमा विश्वलाई झस्काएको छ ।
यसरी विश्व दुई ध्रुवमा बाँडिएको छ । संयुक्त राष्ट्रसंघले युद्ध अन्त्यका लागि गरेका प्रयासले सार्थकता पाउन सकेको छैन । ब्लड बैंक, अस्पताल र विश्वविद्यालयहरु समेत आक्रमणबाट अछुतो छैनन् । आवश्यकता परेका खण्डमा आणविक हतियार प्रयोग गर्ने, तर युद्धबाट पछि नहट्ने स्पष्ट संकेत रुसले गरिसकेको छ ।
‘यदी युक्रेनको प्रत्याक्रमण सफल भयो । र, नाटोको सहयोगमा हाम्रो भूमि खोसियो भने रुसी राष्ट्रपतिको आदेशमा हामीले आणविक हतियार प्रयोग गर्नुपर्ने हुन्छ । त्यहाँ अर्को कुनै समाधान हुनेछैन,’ रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा काउन्सिलका उपाध्यक्ष दिमित्री मेदभेदेवले टेलिग्राममा पोस्ट गर्दै गत साता धम्कीपूर्ण शैलिमा भनेका थिए ।
समारोहमा उपस्थित जापानका प्रधानमन्त्री फुमियो किसहिदाले यस चेतावनीप्रति आपत्ति प्रकट गरेका छन् । ‘जापान आणविक बमबाट प्रताडित हुने विश्वको एक्लो देश हो । हामी आणविक हतियार मुक्त विश्व बनाउनका लागि आफ्नो प्रयास जारी राख्नेछौं । अन्तर्राष्ट्रिय समुदायमा देखिएको विभाजन र रुसको आणविक धम्कीका कारण आणविक निशस्त्रीकरणको अभियान अहिले निकै कठिन मोडमा छ,’ उनले भने ।
समारोहमा बोल्दै हिरोसिमाका मेयर काझुमी मात्सोइले आणविक धम्कीलाई मुर्खता भनेका छन् । ‘यसले गर्ने क्षतिलाई हामीले भोगेका छौं, यो मुर्खता हो,’ उनले भने ।
हिरोसिमाको घाउ
विश्वभर आणविक युद्धको चर्चा हुन्छ । हामीमध्ये धेरैले आणविक हमलाका कथा सुनेका छौं । तर, हिरोसिमाले त्यो कालो दिनलाई भोगेको छ । ६ अगस्ट १९४५ मा ठिक ८ बजेर १५ मिनेट जाँदा अमेरिकी बी–२९ विमान ‘एनोला गे’ ले ‘लिटिल ब्वाई’ नामक ३ दशमलव ५ मिटर लामो, ४ टन वजनको बम हिरोसिमामा खसालेको थियो । यस विमानमा पाइलटद्वय कर्नेल पाउल टिबेट्स र क्याप्टेन रोबर्ट लेविससहित १२ जना थिए । अति गोप्य म्यानहटन प्रोजेक्टअन्तर्गत लस अलामोस, न्यु मेक्सिकोको प्रयोगशालामा बनाएर ल्याइएको यो बम जमिनमा झर्न ४३ सेकेन्ड पनि लागेन ।
'एनोला गे' विमानको एक किलोमिटर पछाडि दाहिनेतर्फ अर्को बी–२९ विमान ‘ग्रेट आर्टिस्ट’ उडिरहेको थियो । जसलाई पाइलट मेजर चाल्र्स स्विनीले उडाइरहेका थिए । अर्को एउटा बमवर्षक बिमान पनि थियो, यसलाई जर्ज मारक्वार्डले उडाएका थिए र उनको जिम्मोवारी तस्विर लिनु थियो ।
तेज हावाका कारण आफ्नो लक्षित क्षेत्र अओई ब्रिजदेखि २ सय ५० मिटर टाढा सीमा सर्जिकल क्लिनिकमाथि बम बिस्फोट भएको थियो । यसको शक्ति १२ हजार ५ सय टन टीएनटी बराबर थियो र जब यो फाट्यो, तब तापक्रम अचानक १० लाख सेन्टिग्रेड पुगेको थियो । (जबकी, सामान्य अवस्थामा आज बिहानको हिरोसिमाको तापक्रम ३० डिग्री सेन्टिग्रेड थियो ।) आकाशबाट द ग्रेट आर्टिस्टका पाइलट मेजर चाल्र्स स्विनीले विशाल आगोको एक घेरा बनिरहेको देखे ।
शहरको मध्यभागबाट एक क्षण केही कंक्रिट भवनलाई छाडेर धर्तीमाथि खडा सबै कुरा गायब भयो । बिस्फोटको असर यति तिव्र थियो कि ग्राउन्ड जिरोदेखि १५ किलोमिटर टाढा हरेक भवनका झ्यालहरुको सिसा चकनाचुर भए ।
बम गिराउने विमानबाट के देखियो ?
हिरोसिमा शहरका दुई तिहाई भवन एक सेकेन्डभित्रै ध्वस्त भए । धेरै किलोमिटर टाढासम्म आगोको आँधी फैलियो । एकै क्षणमा हिरोसिमाको कुल जनसख्ंया २ लाख ५० हजारको ३० प्रतिशत अर्थात् ८० हजार मानिसको मृत्यु भयो ।
जब बिस्फोट भयो ‘एनोला गे’ को अगाडिको क्याबिनमा प्रकाश फैलियो र पाइलट पाउल टिबेट्सले आफ्ना दाँतहरुमा एक अनौठो कम्पन महसूस गरे ।
विमानको पछाडिपट्टी बसेका टेल गनर बब कैरनले आफ्नो कोडा क्यामेरा उठाएर जमिनका दृश्यहरु खिच्न लागे, तल बादलबीच सफा धुवाँको एक धर्सा ३ हजार फिटसम्म उठ्यो र त्यसले च्याउजस्तो आकार लियो ।
एनोला गेका सह–पाइलट क्याप्टेन रोबर्ट लुइसले आफ्नो लग बुकमा लेखे, ‘माई गड, हामीले के ग¥यौं ? ‘एनोला बे’ का वेपेनियर विलियम पारसन्सले एक सन्देश पठाए , ‘परिणाम सफल, विमानको हालत सामान्य ।’
जमिनमा के भयो ?
तल जापानी सेनाका ड्राफ्ट्सम्यान सुतोमु यामागुचीको नजर माथि उडिरहेका बिमानमा परेको थियो । उनले देखें कि विमानबाट एक छोटो, कालो वस्तु तल झर्दैछ । एकै पलमा उनको आँखाले देख्न नसक्नेगरी प्रकाश फैलियो । उनका सबै संवेदनशिल अंगले काम गर्न छाडे । उनले औंलाहरुले आफ्नो आँखा ढाके र जमिनमा बम गिर्यो । उनीभन्दा तलको घर्ती हल्लियो र तल–माथि गरिरह्यो । जब उनले आफ्नो आँखा खोले, तब उनको चारैतर्फ अन्धकार थियो ।
अचानक उनलाई महसुस भयो कि आफ्नो अनुहारको बाँया हिस्सा र बायाँ कुइनोमा भयानक गर्मी भयो । उनलाई बान्ता गर्न इच्छा लागेको थियो र उनी बेहोश हुन थाले । त्यतिबेलै उनले केही टाढा रहेको एक रुख देखें, त्यस रुखका सबै पातहरु झरिसकेका थिए ।
उनले त्यस रुखमा पुग्न आफ्नो सबै ताकत लगाए । उनी त्यहाँ पुगेर त्यसको तल बसे । यतिबेलासम्म उनको गला सुख्खा भइसकेको थियो र पानीको एक थोपाका लागि उनी तड्पिरहेका थिए ।
पानी पानी भन्दै तड्पिए...
हिरोसिमाको पूर्वी इलाकामा एक रेल शहरतर्फ अघि बढिरहेको थियो । अचानक सैनिकहरुले चलिरहेको रेल रोकेर सबै यात्रुहरुलाई उत्रन आदेश दिए ।
डिब्बाहरुलाई इन्जिनबाट अलग गरेर त्यही रोक्ने काम भयो, यद्यपी इन्जिन अगाडि बढ्दै गयो । तर, त्यति टाढा पनि जान पाएन किनकी रेलवे लाईन पैदलै शहर छाडेर जान लागेका मानिसहरुले भरिएको थियो ।
त्यसमध्ये केही मानिसहरुको छाला उनीहरुको अनुहारबाट बाहिर निस्किएर झुन्डिरहेकोे थियो र केही व्यक्तिको हात यसरी झुलिरहेको थियो, जसरी भित्तामा आधा च्यातिएको पोस्टर झुलेको हुन्छ । केही व्यक्ति निकै बिस्तारै–बिस्तारै चलिरहेका थिए र उनीहरुको मुखबाट एउटै आवाज निस्किएको थियो, ‘पानी .. पानी.. ।’
के म मर्न जाँदैछु ?
झन्डै ११ बजेतिर एटम बमको बिस्फोटबाट पैदा भएको बादलको कारण हिरोसिमामा तिव्र वर्षा हुन लागेको थियो । यो कालो वर्षा थियो, जसमा फोहोर, धुलो र बिस्फोटबाट उत्पन्न भएको रेडियोएक्टिभ तत्व मौजूद थिए ।
खासमा कालो रंगबाट पनि गहिरो वर्षा भएको थियो, केही–केहीले भित्ता र कपडामा अमिट निशान पनि छाडे । उता, पात बिनाको ठूलो रुखमुनी बसेका यामागुचीले रेडियो एक्टिभ वर्षाको सामना गर्नुपरेन । उनी थोरै पर दौडदैं खाल्डोमा पुगे, जहाँ एक महिला थिइन् । ती महिलाको सारा कपाल र गाला पनि जलेर रातो भइसकेको थियो । उनले उठ्ने कोसिस गरिन्, तर सकिनन् । उनी कसैलाई सम्बोधन गर्दै बल्लतल्ल चिच्याउँदै थिए, ‘मद्दत गर्नुस्, मद्दत गर्नुस्...।’
यामागुचीलाई देखेपछि उनले निकै सानो आवाजमा सोधिन्, ‘के म मर्न जादैंछु ।’
यतिबेला यहाँ अन्य दुई युवा आइपुगे, जसलाई केही पनि भएको थिएन । उनीहरुले यामागुचीलाई भने, ‘तपाई नराम्रोसँग जल्नुभएजस्तो देखिनुहुन्छ ।’
यामागुचीले आफ्नो अनुहारलाई बिस्तारै छोए । उनलाई लाग्यो कि उनको अनुहारबाट छाला उत्रिएर उनको हातमा आउँदैछ । उनका पाखुरा कालो भइसकेका थिए र लगातार कमजोर हँुदै थिए ।
ती छात्रहरु यामागुचीलाई लिएर एक क्लिनिक पुगे । त्यहाँ जलेका शवहरु थिए । त्यहाँ एक कम्पाउन्डरले यामागुचीको अनुहारमा सेतो मल्हम लगाइदिए र उनको पाखुरामा पट्टी बाँधिदिए ।
त्यहाँ उनलाई दुई बिस्कुट र थोरै पानी दिइयो । अनि, बिस्कुटको एक टुक्रा खानासाथ उनलाई वान्ता आयो ।
विध्वंश नियाल्ने पत्रकार
३७ वर्षीय स्थानीय पत्रकार सातोशी नाकामुराले त्यस दिन हिरोशिमबाट थोरै टाढा आफ्नो एक साथीको घरमा रात बिताएका थिए । जब हिरोसिमामा एटम बम पड्कियो, तब त्यसको असरले उनी जमिनमा ढले र उनको अनुहारमा फुटेको सीसाले चोट पुर्यायो । त्यसपछि उनले आफ्नो साइकल उठाए र हिरोसिमातर्फ अघि बढे ।
उनी हिरोसिमाको बर्बादी देख्ने पहिलो पत्रकार थिए । उनले डौमी समाचार एजेन्सीको ओकायामास्थित कार्यालयमा जानकारी गराए, ‘८ बजेर १६ मिनेटमा दुश्मनका दुई विमानहरुले हिरोसिमामा एक खास बम खसाले । हिरोसिमा पुरै तरिकाले बर्बाद भइसकेको छ र झन्डै १ लाख ७० हजार मानिस हाताहात भएका छन् ।’
जब डौमीका ब्युरो चिफले यो सुने तब उनले नाकामूरालाई भने कि एउटै बमले हिरोसिमामा यति धेरै मानिस मारिनु साँचो हुनैसक्दैन । उनले नाकामूरालाई सेनाले यो तथ्य मान्न अस्विकार गरिहेकाले हातहात भएकाहरुको संख्या कम बनाएर रिपोर्ट गर्न भने । बदलामा नाकामुराले टेलिफोन लाइनमा चिच्याउँदै भने,‘सेना मुर्ख छ ।’
तीन दिनपछि नागासाकीमा विध्वंस
९ अगस्ट १९४५ मा जापानको अर्को शहर नागासाकीमा दिउँसो बी–२९ बमवर्षकले अर्को एटम बम खसाल्यो । बम खसेपछि १ किलोमिटरको दायरामा रहेका सबै चिज धरासायी भएका थिए । ऊष्माको किरणले मानव शरीरको जलको एक–एक थोपा सोसिदियो, धेरै मानिस र जनावर त्यही क्षण मरे ।
धमाका यति तेज थियो कि ८ किलोमिटर टाढा रहेका घरका सीसा फुटे । बिस्फोटबाट उत्पन्न प्रकाश केही सेकेन्डसम्म मात्रै रह्यो, तर यसबाट निस्किएको ऊष्माले छालाको थर्ड डिग्री जलाइदियो ।
बम खसेको क्षेत्रबाट ५ सय मिटर टाढा शिरोयामा प्राइमरी स्कुलमा चारैतर्फ कंक्रिट र कंकालमात्रै देखिन्थ्यों । त्यही रहेकी चियोको इगाशिराले एक भयानक धमाका सुनिन् र उनलाई यस्तो लाग्यो कि उनको पिठ्युको मासुको एक हिस्सा उडिसकेको छ । उनले नजिकै रहेकी आफ्नी छोरीलाई आफ्नो शरीरले ढाकिन् । यतिबेला छोरीको शिरको एक–एक रौं ठाडो थियो, तर आँखी भौंमा एउटा पनि रौं बाँकी थिएन । छोरीको मद्दका लागि उनले चिच्याउने कोसिस गरिन्, तर मुखबाट कुनै आवाज निस्किएन ।
बमको केन्द्रबिन्दुबाट १ किलोमिटर क्षेत्रका एक–एक चिज बाफ बनेर उठे । यस्तो लाग्दै थियो, हरेक चिज जलेर खरानी भइसकेको छ । एक माइक्रो सेकेन्डभित्र नागासाकी जेलका तीन भवन धरासायी भए । जेलभित्र बसेका कोही पनि बच्न सकेनन् ।
नागासाकी मेडिकल कलेज अस्पतालमा मरेका व्यक्ति तथा मर्दै गरेका घाइतेहरुको मुखबाट रगत बगिरहेको थियो । त्यहाँ रहेकी सुनिओ तोमिताले आफ्ना साथी कामोतोलाई उसको काँधमा तानेर उठाउने कोसिस गरिन्, तर उनको हातमा काँधको मासुमात्रै आयो, कोमोतो फेरि लडे । यही अस्पतालका विद्यार्थी थोतोमिता घाइतेहरुलाई पानी र हौसला बाँडिरहेका थिए । तर थोरै समयपछि उनी र उनका प्रोफेसर सिकी मात्रै जीवित बाँकी रहे । उनको चारैतर्फ झन्डै २० वटा शव थिए । जहाँ हेर्दा पनि आगोको झिल्का उठिरहेको देखिन्थ्यों । बिस्फोट स्थलबाट झन्डै डेढ किलोमिटर पर एक टारपिडो कारखानामा मित्सर्Ó तकिनो पनि जमिनमा लडेर बेहोश थिइन् । होश आएपछि उनले चारैतर्फ मानिसहरुको चिच्याहट सुनिन्, उनीमाथि ठूलो संख्यामा टुुटे–फुटेका ईट्टालगायत सामाग्री प¥यो । धेरै गाह्रोसँग उनले बल्लतल्ल आफ्नो दाहिने हातलाई मुक्त गराउन सकिन्, उनलाई जमिन शितल रहेको अनुुभव भइरहेको थियो । जब उनले आफ्नो टाउको छोइन्, त्यतिबेला थाहा भयो, जमिनमा उनकै रगत फैलिएको थियो र त्यसमाझ उनी खडा थिइन् ।
( हिरोसिमा र नागासाकीमा तीन दिनको अन्तरालमा भएको हमलामा परेर १ लाख २९ हजारदेखि २ लाख २६ हजारसम्मको मृत्यु भएको हुनसक्ने आँकलन गरिएको छ । जो बाँचेका थिए, उनीहरुमध्ये अधिकांश अंग–भग थिए । हेर्दा स्वस्थ्य देखिनेहरु पनि रेडिएशनको शिकार भएर विभिन्न रोगसँग जुधिरहेका थिए । हिरोसिमामा गत मार्चसम्मको तथ्याङ्कअनुसार हमलामा बाँचेकामध्ये १ लाख १३ हजार ६ सय ४९ जना जीवित थिए, उनीहरुमध्ये अधिकांश व्यक्ति घटना हुँदा बालखै थिए । आणविक हमलाको केही दिनपछि जापानले २ सेप्टेम्बर १९४५ मा मित्र शक्तिसँग निशर्त आत्मसमर्पण गरेको थियो । र, विश्वयुद्ध समाप्त भयो । युरोपमा भने हिटलरको मृत्युपछि ८ मेइमै जर्मनीले आत्मसमर्पण गरेर युद्ध समाप्त भइसकेको थियो ।)
(क्रेक कोलीको पुस्तक ‘नागासाकी’, जेम्स डलगार्डोको पुस्तक ‘न्युक्लियर डान’ र चिकासाउ मोरासामीको ‘द व्हाइट स्काइ इन हिरोसिमा’ पुस्तकमा आधारित ।)