Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘आँखा पाक्ने रोगबाट आत्तिनु पर्दैन, सचेत भए पुग्छ’

आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ
सोमबार, साउन २२, २०८०

गण्डकी– मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन सचेत भए एक हप्तामा नै पूर्णरुपले निको हुने हिमालय आँखा अस्पतालका निर्देशक डा इलिया श्रेष्ठले बताइन् ।

उनका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, विजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ ।

“आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ”, उनले भनिन्, “त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधिलगायत विभिन्न सामग्रीबाट रोगको सङ्क्रमण तीव्र रुपमा फैलिने गर्दछ ।” उनका अनुसार एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन ।

सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । सङ्क्रमण यसको प्रमुख कारण हो । 

आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाइ घरमा नै आराम गराउन अस्पतालमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सुझाव दिइन् । अस्पतालका निर्देशक डा श्रेष्ठले भनिन्, “सङ्क्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।” आइतबार मात्र एक हजार तीन सय ५० जनाको आँखा परीक्षण गरिएकोमा पाँच सय जनामा आँखा पाक्ने समस्या देखिएको थियो । जसमा तीन सय ६० बालबालिकामा सङ्क्रमण देखिएको थियो । सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक सात सय जनाको आँखा परीक्षण हुँदै आएको थियो ।

विगतको भन्दा यसपटकको सङ्क्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करिब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उनको सुझाव छ । 

रोगको सङ्क्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा श्रेष्ठले भनिन्, “भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म सङ्क्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।”

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्‍याउँदै आएको छ । आँखा पाक्ने बिरामीको सङ्ख्यामा क्रमिक रूपमा बढेपछि सङ्क्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

आँखा पाक्ने सङ्क्रमण बढेपछि विद्यालय बन्द

विद्यार्थीमा आँखा पाक्ने समस्या बढेपछि पोखरा महानगरपालिका–२० स्थित भलाम आधारभूत विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको वडाध्यक्ष गङ्गाबहादुर केसीले जानकारी दिए । 

पोखरा १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीमा पनि आँखा पाक्ने समस्या देखिएको प्रधानाध्यापक अर्जुन कँडेलले बताए । उनका अनुसार विद्यालयका ३० जना विद्यार्थीमा उक्त समस्या देखिएकोमा घरमै आराम गरेर उपचार गर्न सल्लाह दिइएको छ । 

आँखा पाक्ने रोगले विकराल रुप लिँदै

मध्यविन्दु–नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो केही दिनयता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि मध्यविन्दु जिल्ला अस्पतालमा आँखाका बिरामीको चाप बढेको छ ।

जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुई सयसम्म आँखाका बिरामी देखापर्ने गरेको अस्पतालको तथ्याङ्कमा देखिएको छ । केही दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीलाई प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाइलाई असर पुर्‍याएकोे छ । दैनिक रुपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या क्रमिक रुपमा घट्दो रुपमा रहेको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेले बताए । 

जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले आँखाको समस्या दिनदिनै बढ्दै गएकाले आँखाका बिरामीले सामान्य जाँचपछि घरमा नै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भीडभाडमा नजाने अनुरोध गरेका छन् । उनले भने, “साना उमेरका बालबालिकामा अझै बढी समस्या छ, यो सरुवा रोग भएकाले बालबालिकालाई विद्यालयबाट नै सर्ने हुँदा सङ्क्रमित बालबालिकालाई विद्यालय नपठाउने र सामान्य औषधिको प्रयोग गरी सचेत रहनु आवश्यक छ ।”

मौसम परिवर्तनसँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको मध्यबिन्दु जिल्ला अस्पतालका डा कमलराज न्यौपानेले बताए । आज मात्र आँखाका एक सय बिरामी अस्पताल आएको उनले बताए । देवचुलीको दुम्कौली अस्पतालमा दैनिक ३० देखि ४० आँखा पाकेका बिरामी आउने गरेको अस्पतालमा कार्यरत डा राजिव सापकोटाले बताए ।

आँखा पाक्ने समस्या एडिनो ‘भाइरल कन्जंक्टिभाइटिस’का बिरामी बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आँखाको समस्याले विकराल रुप लिन सक्ने भन्दै समयमा नै यसको रोकथामको लागि सबै लाग्नुपर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अहिले फैलिएको डेङ्गु र आँखाका समस्या रहेकाले बजारमा सिटामोल र आँखाको ‘ड्रप’ अभाव हुन नदिन सबै पालिकाका स्वास्थ्य कार्यालय स्वास्थ्य चौकीलाई सचेत रहनुपर्ने बताए । “जिल्लामा आँखाका समस्या र डेङ्गु रोग भाइरलको समस्या देखिएकाले समयमै सचेत रहन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छौँ”, उनले भने ।

जिल्ला अस्पतालमा अहिले डेङ्गुका करिब २० बिरामीले उपचार गरिरहेको र आँखाका बिरामी दैनिक एक सयभन्दा बढी उपचारमा आउने गरेको बताइएको छ । यही अनुपातमा बिरामीको सङ्ख्या बढ्दै गए जिल्लामा औषधिको अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्