Nic Ad Nic Ad
Nic Ad Nic Ad

संझनामा यामागुची : जसले तीन दिनभित्र दुईवटा परमाणु हमला झेले 

बुधबार, साउन २४, २०८०
  • आज ९ अगस्ट, जापानको नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको ७८ वर्ष पुगेको छ । यसको तीन दिनअघि हिरोसिमामा अमेरिकाले बम खसालेको थियो । सुटोमु यामागुची त्यस्ता व्यक्ति हुन्, जो पहिलो हमला हुँदा हिरोसिमा र दोस्रोपटक नागासाकीमा थिए । तीन दिनको अन्तरालमा दुईवटा परमाणु हमला झेलेका यी व्यक्तिको निधन सन् २०१० मा ९३ वर्षको उमेरमा भएको थियो । 

दोस्रो विश्वयुद्धका दौरान हिरोशिमामा ६ अगस्ट, १९४५ मा अमेरिकाले परमाणु हमला गरेपछि यामागुची भागेर नासागासीस्थित आफ्नो घर पुगेका थिए ।

आयल ट्यांकर्स डिजाइन गर्ने यामागुची नागासाकीस्थित मित्सुबिसी हेभी इन्डस्ट्रिजको कार्यालयमा हिरोशिमामा भएको हमलापछिको भयावह अनुभव सुनाउँदै थिए ।

हमलाका कारण उनको शरीरमा चोट लागेको थियो । अधिकांश भागमा ब्यान्डेज लगाइएको थियो र केवल आँखामात्रै देखिन्थ्यों । उनी राम्रोसँग उभिन पनि सकिरहेका थिएनन् । 

उनले बताएको भयावहस्थितलाई मित्सुबिसीका निर्देशकले पत्याउन सकेनन् । उनी भन्दै थिए, ‘एउटै बमले पुरै शहर ध्वस्त गर्न सक्दैन ।’

यामागुची केही बिस्तारमा भन्दै थिए । हामी एकाएक चट्टयाङ परेजसरी तेज हमला भयो । यामागुची भुँइमा लडे । अफिस क्षतिग्रस्त भयो । पुरै कोठामा फुटेसा सिसा थिए । 

यो अमेरिकाले गरेको दोस्रो परमाणु हमला थियो । तीन दिनको अन्तरालमा अमेरिकाले दुईवटा बम खसालेको थियो । हिरोसिमामा खसालिएको बमलाई ‘लिट्टिल ब्वाई’ र नागासाकीमा खसालिएकोलाई ‘फ्याट म्यान’ कोड नाम दिइएको थियो ।

दुईवटा बम हमला सहने व्यक्तिमध्ये यामागुचीका सहकर्मी अकिरा इवानागा र कुनियोशी सातो पनि थिए । उनीहरु पनि तीन दिनअघि यामागुचीसँगै भागेका थिए । यसबाहेक झन्डै १ सय ६५ जना अन्य व्यक्तिहरु पनि छन् । जो जसले पहिले बम खस्दा हिरोसिमा र त्यसपछि नागासाकीमा रहेको अनुभव सुनाएका थिए ।

तर, जापान सरकारले यामागुचीलाई मात्रै दुईवटा बम हमला झेल्ने व्यक्तिका रुपमा ‘निज्यु हिबाकुशा’ नाम दिएको थियो । सन् २००९ मा उनलाई यो नामबाट सम्मान गरिएको थियो । 

नागासाकीको अनुभवबारे यामागुचीले भनेका थिए, ‘एकाएक बिजली चम्किएजस्तो भयो र तेज धकामा भयो । म भुँइमा लडें । अफिस क्षतिग्रस्त भयो । पुरै कोठामा टुटेका सिसा र धुलोहरु थिए । ’

हिरोसिमामा के भएको थियो ?

तीन महिनाका लागि यामागुचीको पोस्टिङ हिरोसिमामा थियो । ५ अगस्टमा उनको काम सकिएको थियो । त्यसपछि उनी नागासाकीस्थित घर जाने तयारीमा थिए ।

६ अगस्टको बिहान उनी आफ्ना दुई साथीहरुसँग हिरोसिमा रेलवे स्टेशनतर्फ अघि बढिरहेका थिए । उनलाई कुनै सामाना छुटेको याद भयो । साथीहरुलाई छाडेर उनी सामान लिनका लागि फर्किए ।

बाटोमै छँदा झन्डै ८ः१५ मा आकाशमा रहेको बी–२९ बमवर्षक विमानले बम खसाल्यो । त्यसपछि पुरै शहर ध्वस्त भयो । यामागुची बाटो नजिकैको आलु बारीमा लडे । उनी यतिबेला बम खसेको ठाउँबाट झन्डै तीन किलोमिटरको दूरीमा थिए । र, पनि उनको शरीरभर चोट लागेको थियो ।

उनले भनेका थिए, ‘के भयो भन्ने थाहा भएन । म बेहोश भएँ । आँखा खोल्दा चारैतर्फ अध्येंरो थियो । हिंड्न खोज्दा सकिँन । बिस्तारै अंगहरु चल्न थालेपछि बाँचेको महसुस भयो । अत्यधिक गर्मी महसुस भइरहेको थियो ।’

यसपछि उनी बिस्तारै मित्सुबिसपी सिपयार्ड नजिकै पुगे । त्यहाँ हमलामा बाँचेका दुई साथी इवानागा र कुनियोशीलाई भेटे ।

हमलाका बाबजुद पनि ट्रेन चलिरहेको छ भन्ने सुनेपछि भोलिपल्ट उनीहरु रेलवे स्टेशनमा पुगे । बाटोमा लाशै लाशमात्र देखिन्थ्यों । पुरै शहर ध्वस्त थियो । ८ अगस्टमा नागासाकी पुगेपछि उनलाई सोझै एक अस्पताल लगियो ।

उनको अनुहार यति खराब भइसकेको थियो कि परिवारले पनि सुरुमा चिन्न गाह्रो थियो । शरीर र अनुहारमा ब्यान्डेज गरिएको थियो । सुरुमा उनलाई भूत ठानेर आमा नै तर्सिएकी थिइन् । 

९ अगस्टमा उठ्दा पनि उनलाई हिडं्न गाह्रो थियो । तर कम्पनीका निर्देशकले हिरोसिमाको पुरै रिपोर्ट मागेकाले उनी कार्यालय गए । बिहान ११ बजेदेखि उनले परमाणु बमको भयावह अवस्थाबारे बताउन थाले । 

तर, निर्देशकले पत्याएनन् । उनी प्रश्न गर्दै थिए, ‘एउटै बलमे कसरी पुरै शहर ध्वस्त बनाउनसक्छ ।’ त्यतिबेला परमाणु बमबारे मानिसहरुले सोचेका पनि थिएनन् । 

निर्देशकलाई बुझाउने प्रयास गर्दा–गर्दै फेरि अर्को हमला भयो । कार्यालयका सिसाहरु फुटे र धुलो उड्न थाल्यो । यद्यपी, पहाडी इलाकामा भएकाले धेरै क्षति हुन पाएन ।

यो इलाका बम खसाइएको ठाउँबाट ३ किलोमिटर टाढा थियो । तीन दिनमा दोस्रोपटक भएको हमलामा बाँचेका उनी तत्कालै आफ्नो घर गए । त्यहाँ उनका दुबै छोरा र श्रीमतीलाई सामान्य चोटमात्रै लागेको थियो । यामागुचीले हिरोसिमाको अनुभव सुनाएका कारण उनीहरु बिस्फोटलगत्तै सुरक्षित रहनका लागि सुरुङमा लुकेका थिए । यदी, यामागुचीले हिरोसिमामा चोट नसहेको भए, यहाँ उनको परिवारले सुरक्षित रहनेबारे सोच्ने थिएन । 

केही दिनपछि नै यामागुचीमा हमलाबाट निस्किएको रेडिएशनको असर देखिन थाल्यो । उनको कपाल झर्न थाल्यो । उनलाई पटक–पटक बान्ता हुन्थ्यों । 

१५ अगस्टमा जापानका सम्राट हिरोहितोले एक रेडियो सन्देशमार्फत आत्मसमर्पणको घोषणा गरे । यसको केही दिनपछि २ सेप्टेम्बरमा विश्‍वयु्द्ध सकिएको औपचारिक घोषणा भयो । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्