Nic Ad Nic Ad
Nic Ad Nic Ad

पक्राउ पर्ने डरले ब्याक भए पुटिन, दक्षिण अफ्रिका नजाने

बुधबार, साउन २४, २०८०

एजेन्सी - दक्षिण अफ्रिकामा ब्रिक्सका नेताहरु यसै महिनाको अन्त्यमा वार्षिक सम्मेलनका लागि भेला हुँदैछन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने यस समारोहमा उपस्थित हुने छैनन् । 

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ब्रिक्सका सदस्य राष्ट्र हुन् । यसअघि पुटिनले यस भेलामा उपस्थित हुने संकेत गरेका थिए । तर, एकाएक उनी ब्याक भएका छन् । दक्षिण अफ्रिका सरकारले उनी पक्राउ नपर्ने सुनिश्चित गर्न नसक्दा पुटिन ब्याक हटेको अमेरिकी म्यागेजिन पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ । 

केही समयअघि इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जसअनुसार आईसीसीको कानुन मान्ने घोषणा गरेका १ सय २३ राष्ट्रमा पुटिन पक्राउ पर्नसक्छन् । उनलाई त्यसपछि हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा लगिनेछ । आईसीसीको कानुन मान्ने प्रतिवद्धता जनाएका राष्ट्रमध्ये दक्षिण अफ्रिका एक हो । त्यसैले, आफ्नो भूभागमा पुटिन देखा परेमा पक्राउ गर्नुपर्ने बाध्यता यस राष्ट्रसामु छ । 

गत मार्चमा युक्रेनी बालबालिकाहरुको ओसारपसार गरेर युद्ध अपराध गरेको भन्दै पुटिनविरुद्ध वारेन्ट जारी गरिएको थियो । त्यसयता, पुटिन तथा अन्य रुसी नेताहरु अन्तर्राष्ट्रिय सम्मेलनमा कमैमात्र देखिएका छन् । उनीहरुले अन्य वैश्विक नेतासँग पनि भेटेका छैनन् ।

सरकारको प्रयास असफल 

दक्षिण अफ्रिका सरकारले पुटिनलाई सम्मेलनमा ल्याउनका लागि सुरक्षा दिने तयारी पनि गरेको थियो । तर, प्रमुख प्रतिपक्षी पार्टीले पुटिनलाई पक्राउ गर्न सरकारलाई बाध्य बनाउने मनासायले अदालतमा मुद्दा हाल्यो ।

‘पुटिनलाई पक्राउ गर्नु रुसविरुद्ध युद्ध घोषणा गरे बराबर हुने भनेर रुसी सरकारले स्पष्ट पारिसकेको छ,’ दक्षिण अफ्रिकाका राष्ट्रपतिले यस घटनाबारे अदालतमा भनेका थिए । तर, दक्षिण अफ्रिका सरकारको यो प्रयास लाभदायी देखिएन । र, अन्त्यमा उनीहरुले सुरक्षाको ग्यारेन्टी दिन सकेनन् । त्यहीकारण पुटिनले जोखिमपूर्ण भ्रमण नगर्ने भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्