'मिस यूनिभर्स इन्डोनेशिया'मा प्रतियोगीहरूलाई 'निर्वस्त्र' हुन बाध्य पारिएको आरोप
बीबीसी– इन्डोनेशियामा आयोजित एउटा सौन्दर्य प्रतियोगितामा सहभागी केही महिलाहरूले आफूहरूसँग यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
उनीहरूका एक वकिलका अनुसार 'मिस यूनिभर्स इन्डोनेशिया'को मूल प्रतिस्पर्धाको दुई दिनअघि आयोजकहरूले प्रतियोगीहरूलाई "शरीर जाँच्न" र तस्बिर खिच्न भन्दै कम्मरमाथि निर्वस्त्र हुन लगाएका थिए। प्रतियोगिता अगस्ट ३ मा सम्पन्न भएको थियो ।
आयोजकहरूले प्रतियोगीहरूको शरीरमा "दाग, सेल्युलाइट (चाउरी परे जस्तो देखिनेगरी छालामुनि जमेको बोसो) वा ट्याटू भए नभएको जाँच्नुपर्ने" भन्दै त्यसो गरेको दाबी गरिएको छ।
"मलाई आफ्नो अधिकार उल्लङ्घन भएको छ भन्ने लाग्छ," एक प्रतियोगीले भनिन् । "यसले मलाई मानसिक पीडा दिएको छ। म राम्ररी सुत्न पनि सकेकी छैन," उनले भनिन्। अरू केही प्रतियोगीहरूको उपस्थितिमा उनले सञ्चारकर्मीहरूसँग कुरा गरेकी हुन् । एउटा स्थानीय टेलिभिजनले उनीहरूको परिचय नखुल्नेगरी अनुहार धमिलो बनाएर यसबारे समाचार प्रसारित गरेको थियो।
उजुरी दिने तीन प्रतियोगीकी वकिल मेलिसा आङ्ग्रेनीका अनुसार अरू प्रतियोगीहरूले पनि यसबारे मुख खोल्ने छन् । जकार्ता प्रहरीले एउटा विज्ञप्ति प्रकाशित गर्दै उजुरीमा दाबी गरिएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।
मिस यूनिभर्स इन्डोनेशिया अर्गनाइजेशनले ती आरोपबारे छानबिन गर्ने प्रतिबद्धता उक्त संस्थाको स्वामित्व भएकी पपी क्यापेलाले व्यक्त गरेकी छन्। उनी इन्डोनेशियाकी ख्यातिप्राप्त गायिका तथा व्यापारी हुन् ।
मिस यूनिभर्स अर्गनाइजेशनले यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपलाई "निकै गम्भीरतापूर्वक" लिएको भन्दै इन्डोनेशियाको घटनाबारे आफूले पनि छानबिन गर्न थालेको बताएको छ ।
इन्डोनिशयामा त्यस्ता प्रतियोगितामा सहभागीहरूको शरीर जाँच्ने कुरा सामान्य भए पनि सौन्दर्य प्रतियोगितामा सहभागीहरूलाई निर्वस्त्र हुन प्राय: नभनिने भूतपूर्व मिस इन्डोनेशिया मारिया हर्फान्तीले बताइन्। उनका अनुसार आयोजकहरूले प्रतियोगीहरूको शारीरिक अनुपात जाँच्न 'बडी मास इन्डेक्स' (बीएमआई) सोध्ने गरेका छन् ।
सोमवार आयोजित प्रेस कन्फरेन्समा एक उजुरीकर्ताले एउटा बन्द कोठामा प्रतियोगीहरूको शरीर जाँचिएको र त्यस क्रममा त्यहाँ पुरुषहरू पनि भएको दाबी गरेकी थिइन्।
ढोका पूरै बन्द नभएकाले बाहिरबाट अरू मानिसले पनि देख्न सक्ने उनले बताइन् ।
धेरै वर्षअघिदेखि नै इन्डोनेशियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् । तर मुस्लिमबहुल यो देशमा आयोजकहरूले परम्परावादीहरूलाई नचिढ्याउन पर्याप्त काम गरेको पाइँदैन ।
सन् २०१३ मा इन्डोनेशियामा मिस वर्ल्ड आयोजना हुँदा 'बिकिनी राउन्ड' हटाइएको थियो । अहिले मिस यूनिभर्सको ७३औँ संस्करण आयोजना हुन लागेको छ। यो सौन्दर्य प्रतियोगिता दक्षिणपूर्वी एशियाका इन्डोनेशिया, फिलिपिन्स र थाईल्यान्डमा निकै लोकप्रिय छ ।
यो प्रतियोगिता जित्ने सुन्दरीहरूले निकै ख्याति कमाउँछन् र सामाजिक सञ्जालमा उनीहरू प्रभावशाली रूपमा स्थापित हुन्छन् ।
थाई पारलैङ्गिक महिला तथा सञ्चार उद्यमी एन ज्याक्राजुतातिपको स्वामित्वमा मिस यूनिभर्स छ । उनले यो प्रतियोगीलाई अझ समावेशी बनाउने प्रयासमा विवाहित महिला, पारलैङ्गिक महिला र एकल आमाहरूलाई पनि सहभागी गराउने गरेकी छन् ।