चुनावीसभामा गोली हानेर राष्ट्रपति उम्मेद्वारको हत्या
इक्वेडरको आगामी निर्वाचनका लागि राष्ट्रपतिको उम्मेद्वार रहेका फर्नान्डो भिल्लाभीसेन्सियोको गोली लागेर मृत्यु भएको छ । राष्ट्रियसभाका सदस्य रहेका फर्नान्डो बुधबार उत्तरी शहर क्वेटोमा चुनावी सभामा सहभागी थिए ।
उनी कारतर्फ जाँदै गर्दा एक व्यक्तिले अघि सरेर टाउकोमा गोली हानेको चुनावी अभियानका एक सदस्यले बताए । प्रत्यक्षदर्शीहरुका अनुसार उनलाई तीन गोली हानिएको थियो ।
राष्ट्रपति गुलेर्मो लास्सोले अपराधको छानविन गरिने बताएका छन् । उनले यस घटनाबाट आफु स्तब्ध भएको बताए । ‘संगठित अपराध निकै अगाडि बढिसकेको छ । तर, कडा कानुनले अपराधीहरुलाई निमिट्यान्न पार्नेछ ,’ यसपटकको निर्वाचनमा उम्मेद्वारी नदिएका लास्सोले भने ।
गोली हान्ने व्यक्तिको भने घटनास्थलमै मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले लगत्तै उनलाई गोली ठोकेर मारेका हुन् । घटनामा दुई प्रहरी अधिकारीसहित अन्य ९ जना घाइते भएका छन् ।
इक्वेडरमा २० अगस्टमा पहिलो चरणको राष्ट्रपतिले निर्वाचन हुँदैछ ।