अविश्वासको प्रस्तावबारे मोदीले ४ बजे जवाफ दिने
एजेन्सी - भारतको लोकसभामा आज अविश्वासको प्रस्तावबारे अन्तिमपटक छलफल हुने भएको छ । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ बजे जवाफ दिनेछन् ।
यसपछि भोटिङ पनि हुन सक्नेछ । यद्यपी, भारतीय जनता पार्टीको स्पष्ट बहुमत भएकाले मोदीलाई कुनै खतरा भने छैन । लोकसभामा भाजपाका ३ सय ३ सदस्य छन् ।
गठबन्धनका अन्य दलहरु समेत जोड्दा ३ सय ३३ पुग्छ । अन्य केही दलहरुले पनि सत्ता पक्षलाई साथ दिने वचन दिइसकेका छन् । विपक्षी कांग्रेसका ५१ सदस्य छन् । विपक्ष गठबन्धनका अन्य पार्टीहरु समेत जोड्दा १ सय ४३ सदस्य हुन आउँछन् ।
मोदी सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएको यो दोस्रोपटक हो । यसअघि २० जुलाई २०१८ मा तेलुगु देशम पार्टीले पनि अविश्वास प्रस्ताव ल्याएको थियो । त्यतिबेला १२ घण्टासम्म प्रस्तावबारे छलफल चलेको थियो । मतदानका क्रममा सरकारका पक्ष ३ सय २५ मत खसेको थियो भने विपक्षमा १ सय २६ मत खसेको थियो ।
यसअघि अविश्वास प्रस्तावको दोस्रो दिन बुधबार साढें ७ घण्टा बहस चलेको थियो । कांग्रेस नेता राहुल गान्धीले ३५ मिनेट लामो भाषणमा भनेका थिए, ‘हाम्रा प्रधानमन्त्री अझै मणिपुर गएका छैनन् । उनका लागि मणिपुर भारत होइन । म उद्धार क्याम्पमा गएँ । महिला र बच्चाहरुसँग कुराकानी गरेँ । तर, मोदी आजसम्म गएनन् । किनकी, उनका लागि मणिपुर भारत होइन । सेनाले एकै दिनमा त्यहाँ शान्ति ल्याउनसक्छ । तर, तपाईहरुले त्यस्तो गर्न चाहनुहुन्न, किनकी भारतमा तपाईहरु मणिपुरलाई मार्न चाहनुहुन्छ । तपाईहरु भारत माताको हत्यारा हुनुहुन्छ ।’
जवाफमा केन्द्रीय मन्त्री स्मृति इरानीले भनिन्, ‘राहुल भारत माताको हत्याको कुरा गर्छन् । कांग्रेस ताली बजाउँछ । मनबाट को गद्दार छ भन्ने कुराको संकेत यही हो ।’ स्मृतिले राहुल गान्धीमाथि महिला सांसद्हरुसँग अभद्र व्यवहार गरेको आरोप समेत लगाइन् ।
मणिपुरमा के हुँदैछ ?
गत मेइ यता मणिपुरमा जातीय दंगा भड्किएको छ । राजधानी इम्फालमा बस्ने बहुमत मितेइ जाति र आसपासका पहाडमा बस्ने आदिवासी कुकी जातिबीचको झडपका क्रममा ९ जुलाईसम्म १ सय ८१ भन्दा धेरै मानिस मारिएका छन् ।
३ सयजना घाइते छन् भने ५४ हजार ४ सय ८८ जना घर छाडेर हिंडेका छन् । मणिपुरमा भाजपाको सरकार छ । अल्पसंख्यक कुकी जातिमाथि दमन गरेको आरोप मुख्यमन्त्री एनबि सिंहमाथि छ । यस घटनामा केन्द्रीय सरकार चुप बसेको भन्दै विपक्षी कांग्रेसले सदनमा अविश्वास प्रस्ताव ल्याएको हो ।