कपनमा बालेनको डोजर, प्रतिकारमा उत्रेका वडाध्यक्षको सर्ट च्यातियो
काठमाडौं– काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकासँगको सीमा क्षेत्रमा डोजर चलाउन खोजेपछि स्थानीयवासी प्रतिकारमा उत्रिएका छन् । त्यसक्रममा बुढानिलण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य रिता दाहालसहित धेरै स्थानीयमाथि आक्रमण भएको छ । ‘मेरो सर्ट च्यातिएको छ । महिला सदस्य रिता दाहालसहित धेरैजना घाइते हुनुहुन्छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘बिना जानकारी एक्कासी खोलाको स्ल्याप खोल्नेगरी महानगरको टोली डोजरसहित आएको थियो । हाम्रो प्रतिकारपछि फर्किएको छ ।’
यसै विषयमा क्यानेडा नेपाल डटकमले भट्टराईसँग कुराकानी गरेको छ ।
महानगरको टोलीसँग तपाईहरु प्रतिकारमा किन उत्रनुभयो ?
एकतर्फी ढंगले हामीसँग समन्वय नगरी कार्यासम्पादन गरेको विषयमा हाम्रो आपत्ति हो । जनप्रतिनिधिको रुपमा यो मेरो दोस्रो कार्यकाल हो । यहाँको डुबानको समस्यालाई समाधान गर्नका लागि मैले निरन्तर पहल गरिरहेको छु ।
तर, एक्कासी महानगर प्रहरीका प्रमुख राजु पाण्डेको टोली आएर डोजर चलाउँदा भोलि निम्तने दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ? हामीले प्रश्न सोध्दा उल्टै हातपात किन गर्नुभयो ? उहाँहरुले स्ल्याप निकालेर खोला खुला गरेर के गर्न खोज्नु भएको हो ? सीमा क्षेत्रमा किन हामीलाई नसोधी डोजर चलाउन आउनुभयो ?स्थानीय सरकारको जनप्रतिनिधि भएकाले यी विषय थाहा पाउनु हाम्रो अधिकार हो ।
भोली खोला खुला छोड्दा निम्तने डुबानको समस्या, मानिसहरु खसेर बेपत्ता हुने समस्या, दुर्घटनाको जोखिम देखिनसक्छ । समस्यामात्रै उजागर गरेर हुनेवाला केही छैन । यस्तो गैरजिम्मेवार काम हुनबाट हामीले रोकेका हौं ।
तर उहाँहरु हामीले रोक्न खोज्दा धरपकडमा उत्रनुभयो । मेरो सर्ट च्यातिएको छ, वडा सदस्य रिता दाहाल घाइते हुनुहुन्छ । अन्य धेरै स्थानीयमाथि हातपात तथा आक्रमण भएको छ ।
उहाँहरुको उद्देश्य पनि त डुबानको समस्या कम गरौं भन्ने नै होला नि ?
डुबानको समस्या समाधानका लागि हामी निरन्तर लागिरहेकै छौं । तर, महानगरपालिकाले समन्वय गरेको छैन । यो क्षेत्र महानगरपालिकाको छेउमा पर्ने भएकाले कम प्राथमिकतामा परेको हुनसक्ला । तर, हाम्रा लागि यो प्राथमिकताको क्षेत्र हो । किनकी, हाम्रा नागरिक ‘कोर काठमाडौं’ जाने बाटो यही हो । यहाँ डुबान हुँदा हामीलाई नै धेरै मार पर्छ ।
हामीले यहाँको समस्या समाधानका लागि निरन्तर काम गरिरहेका छौं । अहिले पनि उपत्यका विकास प्राधिकरणबाट एउटा प्रोजेक्ट चलिरहेको छ । पहिले हिमपाइप हालिएको ठाउँमा बक्स कल्भर्ट हाल्नेगरी डिजाइन गरिएको छ ।
कुल २.७ किलोमिटरमध्ये १.२ किलोमिटर (आनि गुम्बाभन्दा माथि ५ सय मिटर , आनी गुम्बाभन्दा तल ७ सय मिटर ।) काम कम्प्लिट भइसकेको छ । बाँकी १.५ किलोमिटरका हकमा ६ सय मिटरको निर्माण गर्नका लागि सम्झौता भइसकेको छ । बाँकी ५ सय मिटरका लागि पनि टेन्डर आव्हान भएर काम अघि बढ्दैछ । वर्षायाममा काम नमिल्ने भएकाले अहिले काम रोकिएको हो । त्यसलगत्तै काम सुरु हुनेछ ।
बुढानिलण्ठ नगरपालिकाले समयमै काम सम्पन्न गर्नका लागि इनिशियसन लिएको भएपनि काठमाडौं महानगरपालिकाले भने यसमा खासै वास्ता गरेको छैन ।
दुई वर्षअघि पनि यो क्षेत्र डुबानमा परेको थियो । त्यतिबेला पनि बुढानिलकण्ठ नगरपालिकाले समाधानका लागि पहल गर्यो । महानगरले कुनै वास्ता गरेन । अहिले नयाँ जनप्रतिनिधिहरु आउनु भएको छ । उहाँहरु बैठकमा आउनुहुन्छ । तर काममा ध्यान दिएको देखिन्न ।
यसको समाधानका लागि के गर्दै हुनुहुन्छ ?
०७४ सालको डिमार्केशनअनुसार उपत्यका विकास प्राधिकरणले विज्ञहरुको टोली बनाएर एउटा डिजाइन गरेर ठेक्का लगाइएको छ । ठेकेदारले वर्षा रोकिएपछि काम थाल्छौं भनेकै छ । नयाँ डिमार्केशन वा अन्य विषयमा हामी छलफल गर्न खुला छौं ।
हाम्रो भनाई टेबुलमा बसेर छलफल गरौं । समस्या समाधानका लागि हामी सधैं तयार छौं भन्ने नै हो । प्राधिकरणले अहिले सञ्चालन गरेको प्रोजेक्टलाई स्मुथ्ली अघि बढ्न दिने हो भने अबको एक–डेढ वर्षभित्र ‘कपन डुबानमा’ शीर्षकमा सञ्चारमाध्यममा समाचार आउन छाड्नेछ । तर समन्वयमा काम हुन जरुरी छ ।