अमेरिकाकाे हवाई टापुमा लागेकाे डढेलोबाट ६७ जनाको मृत्यु, सहर नै ध्वस्त
हवाइ - अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताए ।
हवाईका गभर्नरले मृतकको संख्या अझै बढ्न सक्ने बताए । हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ। चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुने जनाइएकाे छ ।
हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लहाइना सहरलाई ध्वस्त पारेको बताए। आगलागीका कारण दूरसञ्चार प्रणालीमा क्षति पुगेको गभर्नरले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए । अमेरिकी सरकारले हवाईमा भएको आगलागीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।