Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणबारे ओली : यो महातस्करी हो लाज भएको भए प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा आउँथ्यो

आइतबार, साउन २८, २०८०

काठमाडौै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग लाज भएको भए राजिनामा दिइसक्नुपर्ने बताएका छन् ।

सुन तस्करी प्रकरणबारे एमालेले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उनले भने,‘ यो महातस्करी काण्ड हो । एउटा होइन सहस्र काण्ड हो । मुखमा लगाउने सिगरेट ल्याउँदा पनि तस्करी छ, पानी तान्ने मोटरमा हालेर पनि तस्करी गरिएको छ, खुट्टाले हान्ने ब्रेक सु ल्याउँदा र कम्मरमा लगाउने पेटी ल्याउँदा पनि सुन तस्करी गरिएको छ । जुत्ता लगाउँदा पनि सुन आउँछ । के भएको हो यो ?’

उनले भने,‘ यति भइसक्दा प्रधानमन्त्रीले आफैं राजिनामा दिनुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा नदिएर कसरी बस्न सकेको हो ?’ उनले उच्चस्तरीय समिति बनाएर सुन प्रकरणको छानविन हुनुपर्ने अडान दोहोर्याए । 

'एयरपोर्टबाट एउटा सियो पनि नदेखी ल्याउन र लैजान पाइदैँन । पेटी खोल्छ, चुरा खोल्छ, डिटेक्टर लगाउँछ । त्यहाँबाट हरेक चिज मेशिनमा जाँच्छ । त्यहाँ राखेकाले ब्रेक शुमा सुन चिन्दैन भने के चिन्छ ? ४ सय ग्राम हुने ठाउँमा साढें ९ सय ग्राम भएको पनि मेशिनले थाहा पाउँदैन ? सरकारको संलग्नता बिना यो भन्सार छली गर्नेहरुले , चोरी गर्नेहरुले मात्रै गरेका हुन् त ? सरकारलाई अलमलमै राखिएको हो त ? पत्याउनुहुन्छ ? जुनसुकै तहको होस् सरकारको संलग्नता बिना यो संभव छैन,' उनले भने । 

उनले वर्तमान सरकार र प्रधानमन्त्रीसँग लाज नभएको बताए । ‘३३ अर्बको कारोबार भएछ । १ अर्ब समातिएछ । त्यो एउटा आइटममा एक ठाउँमा देखाएर सारा देशलाई घुमाएको छ । बाँकी क्रियाकलाप चालु छ । एउटा आइटम समातेर देश घुमाएको छ ।’

संसद् निर्वाध चल्न पाउनुपर्ने पक्षमा एमाले रहेपनि सत्तापक्षकै नेताहरुले संसद्मा प्रतिपक्षलाई बोल्नबाट रोकेकाले सदन अवरोध गर्नुपरेको उनको दाबी छ । ‘ प्रतिपक्षले संसद् चल्न दिएन भनेको छ । तर, संसद्मा हामीले यो कुरा गर्‍यो कि रोस्ट्रममा उभिएर सत्तापक्षकै नेताहरु हल्ला गर्छन् । तस्करीविरुद्ध, भ्रस्टाचाविरुद्ध बोल्न दिदैंनन्,’ उनले भने । 

सुनिल शर्माको उदाहरण दिदैं ओलीले सरकारविरुद्ध बोल्ने सत्तापक्षकै नेताहरुलाई जाली मुद्दामा फसाएर गिरफ्तारी गरिएको बताए । ‘सुनिल शर्मा के देश छाडेर भाग्ने नेता हो । छानविन गर्नमा आपत्ति भएन । तर छानविन नै नथाली किन पक्राउ गरियो ?’ उनले सोधे । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्