Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : ‘ब्रेक शु’भित्रको सुनको मात्रा ६० किलो ७ सय ८९ ग्राम

सोमबार, साउन २९, २०८०

काठमाडौँ– मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । 

ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । 

उनका अनुसार भोलि बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । 

महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताए । उनले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताए । 

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।

उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्