Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘शाही मेयर’ केशव स्थापितले किन छाडे एमाले केन्द्रीय कमिटी?

मंगलबार, साउन ३०, २०८०

काठमाडौंस्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयरको उम्मेदवार बनाएका केशव स्थापितले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। सोहीअनुसार एमाले सचिवालयले उनलाई उक्त जिम्मेवारीबाट अलग राख्ने निर्णय गरिसक्यो।

स्थापित स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। काठमाडौंमा लभ पार्कदेखि गाँजाको व्यापारसम्मको पैरवी गर्ने स्थापितले केही नयाँ गर्नका लागि केन्द्रीय सदस्यको पदबाट अलग भएको प्रतिक्रिया दिएका छन्।

तर, केही नयाँबारेचाहिँ उनले खुलाएका छैनन्। यद्यपि उनको बिगत राजनीतिक रुपमा निक्कै अस्थिर रहेका कारण पनि कुनै अन्य दलमा समावेश होलान् या आफैं केही घोषणा गर्लान् भन्ने विविध अनुमान गर्न सकिन्छ। यद्यपि उनले लामो लाभचाहिँ एमालेबाट लिएका छन्।

२०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहराहरू भत्काइएका थिए।

राजाको प्रत्यक्ष शासन कालमा पनि उनले लाभ उठाए। राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए। त्यसैबेला माओवादीसँग पनि उनको हिमचिम बढेको थियो । शाही मेयर भएर माओवादीका लागि लजिस्टिक सामान सप्लाई गरेको आशंकामा उनलाई मेयरबाट हटाइएको थियो।

 

यति मात्र होइन, राजाले हटाएपछि उनले नेपाल प्रजा परिषदको पुर्नजन्म गराई राजनीतिक अभियान थाले। तर, त्यसमा पनि सफलता पाउन नसकेपछि केही समय मौन बसेका थिए। संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं६ बाट उम्मेदवार भए पनि निर्वाचित हुन सकेनन्। उनी एमालेका योगेश भट्टराईबाट पराजित भए, त्यसबेला।

तर उनको राजनीतिक नियुक्ति र विकासका आयोजनामा प्रवेश भने भइ नै रह्यो। डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६९ सालमा उनी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुखमा नियुक्त भए। त्यहाँ पनि नौ महिना टिक्न सकेनन्।

उहाँको एकल निर्णय गर्ने बानी र हठ्ठी स्वभावलाई स्वीकार गर्न कोही तयार भएनन्। हुँदैनन् पनि। यसैले अस्थिर हुनुहुन्छ भनिन्छ, स्थापितनिकट भन्छन्।

फेरि एमालेतिर आएका उनी ०७४ मा बागमती प्रदेश सभा सदस्यका रुपमा प्रवेश गरे। मुख्यमन्त्री डोरमणि पौडेलको मन्त्रिपरिषदमा एमालेबाट भौतिक निर्माण मन्त्रालयको जिम्मेवारी पाएका थिए। उनको पौडेलसँगको खटपटका कारण मन्त्री पद पनि गुम्यो। पछि एमालेले स्थानीय निर्वाचनमा उनलाई मेयरको उम्मेदवार बनाएको थियो।

तर, स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग उनी तेस्रो स्थानमा आउँदै पराजित भएपछि राजनीतिमा खासै सक्रिय थिएनन्।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्