साउदीमा नेइमार : गन्तव्य भुलेका एक बटुवा
एजेन्सी - कुनै समय थियो, जतिबेला ब्राजिलका महान् फुटबलर पेले नेइमारलाई मेस्सीभन्दा उत्कृष्ट ठान्थें । पेले बितेको ६ वर्ष भयो, उनी जीवित भएको भए नेइमारको साउदी अरेबिया पलायनलाई के भन्थें होलान् ?
युरोपका कुनै पनि क्लबले किन्न नचाहेपछि नेइमार साउदी जानु एउटा दुग्भार्य हो । ब्राजिलको जर्सीमा सर्वाधिक ७७ गोल गर्ने किर्तिमान पेले र उनको नाममा संयुक्त छ, यसैले नेइमार कुन दर्जाका खेलाडी हुन् भन्ने प्रमाणित गर्छ ।
ब्राजिलमा सन् २००९ बाटै नेइमारको चर्चा सुरु भएको थियो । १७ वर्षको उमेरमा सान्तोषका लागि डेब्यु गर्दै उनले एकै सिजन १४ गोल गरे । उनको ड्रिब्लिङ, पास दिने शैली र गोल गर्ने कला निकै सिर्जनात्मक थियो ।
सन्तोषलाई सन् २०११ मा कोपा लिबर्टाडोरेस उपाधि जिताएपछि नेइमारबारे बाँकी विश्वले पनि चासो दिन थाल्यो । त्यसको दुई वर्षपछि उनी बार्सिलोना आए ।
बार्सिलोनालाई सन् २०१५ मा बार्सालाई कोपा डेल रे, ला–लिगा र च्याम्पियन्स लिग जिताउन उनको भूमिका महत्वपूर्ण थियो । त्यहीकारण यस वर्ष उनी फिफा बेलोन डि अरमा लियोनल मेस्सी र क्रिष्ट्रियानो रोनाल्डोपछि तेस्रो स्थानमा आए ।
नेइमारबाट ब्राजिलको आशा ठूलो थियो । रोनाल्डो, रोनाल्डिन्हो र रिभाल्डोको जोडीले तहल्का पिट्दा सन् २००२ मा विश्वकप जितेको ब्राजिल त्यसपछि यस प्रतियोगितामा रित्तो हात थियो ।
नेइमारको नेतृत्वमा उपाधि जित्ने आशा पनि अहिलेसम्म पूरा भएन । सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलमा कोलम्बियाविरुद्धको चोट उनलाई महँगो पर्यो । उनी सहभागी नभएको सेमिफाइनलमा जर्मनीसँग ब्राजिल ७–१ को लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । २०१८ मा बेल्जियम र २०२२ मा क्रोयशियाले ब्राजिललाई क्वाटरफाइनलबाटै फर्काइदिए ।
बार्सिलोनामा छँदा नेइमार निकै प्रभावशाली मानिन्थें, फर्ममा रहदाँ कहिलेकाँही बार्सिलोनामा मेस्सीलाई नै छायाँमा पारिदिन्थें । २०१७ मा पेरिस सेन्ट जर्माइनले उनलाई २ सय २० मिलियन युरो तिरेर क्लबमा भित्र्याउनुको कारण यही थियो । यो खेलाडी स्थानान्तरणमा खर्च गरिएको अहिलेसम्मकै विश्व किर्तिमानी रकम हो । तर, नेइमारका लागि पेरिसमा बिताएका ६ वर्ष उपलब्धिविहिन रहे ।
पिएसजीको लक्ष्य नेइमारले च्याम्पियन्स लिग जिताउँछन् भन्ने थियो । नेइमारको लक्ष्य : विश्वकै उत्कृष्ट खेलाडीका रुपमा बेलोन डि“ अर र फिफा वर्ष खेलाडीको अवार्ड जित्नु थियो । तर, कसैका पनि लक्ष्य पूरा भएनन् । २०२० मा च्याम्पियन्स लिगको फाइनलमा पिएसजी बार्यन म्युनिखसँग पराजित भयो ।
त्यसपछि नेइमारको प्रभाव पनि कम देखिन थाल्यो । यसबीच इडिन्सन काभानी र कालियन एमबाप्पेजस्ता सहकर्मीसँग पनि नेइमारको मैदानभित्रै झगडा भयो । मैदानभित्रका यस्ता रवैयाले उनको छवि बिगार्न काम गर्यो । पटक–पटक चोटको शिकार भएका कारण पनि उनको प्रदर्शन प्रभावित भयो ।
गत वर्ष घाइते भएकाले नेइमारले अधिकांश समय बेच्नमा बिताए । त्यतिबेलै पिएसजीले नेइमारलाई बेच्न नचाहेको होइन । तर, राम्रो लगानी गर्ने क्लब भेट्टयाएन । विश्व किर्तिमानी रकम खर्चेर ल्याइएका खेलाडीलाई सित्तैमा बेच्ने कुरा पनि थिएन ।
यसपटक पनि युरोपेली क्लबहरुले नेइमारलाई किन्न खासै चासो देखाएनन् । यस्तोमा अल हिलालले गरेको ९० मिलियनको प्रस्तावलाई पिएसजीले सकारात्मक सोच्यो ।
पिएसजीका लागि नेइमारको बर्हिगमन एउटा सेतो हात्ती हटाउनु बराबर हो । पछिल्ला ६ वर्ष उनले खर्च बढाउने मात्रै नभएर अदालती झमेलामा फसेर क्लबलाई थप समस्यामा पारिदिने काम पनि गरे । उनको आगमनबाट न पिएसजीले सोचेजस्तो उपलब्धि हासिल गर्यो, न नेइमारले स्वयंम्ले नै ।
नेइमार आएयता, लगातार स्टार खेलाडी भित्र्याइरहेको पिएसजी यस सिजन भने स्टार खेलाडी बेच्ने अभियानमा थियो । यसअघि नै उसले मेस्सीलाई इन्टर मियामीमा बेचिसकेको छ ।
दुई स्टारको बहिगर्मनका बाबजुद कालियन एमबाप्पेलाई क्लबमै रहनका लागि राजी गराउन पिएसजी सफल भएको छ । अर्कोतर्फ उसले बार्सिलोनाबाट सस्तो उस्मान डेम्बेलेलाई पनि भित्र्याएको छ ।
अल हिलालका लागि सुपरस्टार खेलाडी भित्र्याउन आफैंमा एउटा ठूलो उपलब्धि हो । यसअघि नै अल हिलालले कालिडु कोलीवेली, रुबेन नेभेस र सर्जेग मिलिनकोभिकलाई क्लबमा ल्याइसकेको थियो । नेइमार यसमा ठूलो सम्पत्ति हुन् । विश्व फुटबलकै एक ठूला ब्रान्डलाई भित्र्याउन पाउनु अल हिलालका लागि मात्रै नभएर पुरै साउदी लिगका लागि उत्साहको विषय हो ।
ब्राजिलको सर्वोच्च गोलकर्ताका रुपमा पेलेलाई सायद उनले अब केही खेलपछि नै उछिन्नेछन् । उनले ओलम्पिक स्वर्ण र कोपा अमेरिकाजस्ता उपाधि पनि जितिसकेका छन् ।
तर, विश्वकप जित्ने अभिलाषा बाँकी नै छ । २०२६ मा हुने विश्वकपमा खरो उत्रनका लागि अनेक क्लब चहार्नुको साटो युरोपका ठूलै क्लबमा खेल्नु कम जोखिमयुक्त हुन्थ्यों । युरोपेली लिगबाट टाढा भएका नेइमारको प्रभाव अब ब्राजिली टोलीमा पनि कम हुँदै जानसक्छ । नेइमारले साउदीमा राम्रै रकम कमाउलान् । तर, यसले खेलाडीको ब्रान्ड भ्यालु मापन गर्दैन ।
फुटबल खेलकै दुग्भार्य मान्नुपर्छ, नेइमारलाई आबद्ध गर्न कुनै पनि युरोपेली क्लबले ठूलो इच्छा देखाएनन् । यसपछाडि नेइमारलाई तिर्नुपर्ने मोटो रकम एउटा कारक थियो । नेइमारलाई जसले जेसुकै भनुन्, उनी फुटबल खेलका एक गिफ्टेड प्लेयर हुन् ।
सन्यासको संघारमा रहेका क्रिष्ट्रियानो रोनाल्डो र करिम बेन्जामाले जुन लिग खेल्दैछन्, त्यही लिगमा ३१ वर्षका नेइमारले राम्रो खेलेर आफ्नो फर्म फर्काउने प्रयास गर्नेछन् ।