Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

तस्करीको सुन गालेपछि फेरि घट्यो, वास्तविक तौल ६० किलो ७ सय १६ ग्राम

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । जसअनुसार वास्तविक सुन ६० किलो ७१६ ग्राम रहेको पाइएको छ । 

यसअघि विभागले ब्रे शुमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातिएको दाबी गरेको थियो । तर, राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७ सय ८९ मात्रै सुन पाइएको थियो । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुन गाल्दा केही ग्राम घटेको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए । उनका अनुसार वास्तविक सुन ६० किलो ७१६ ग्राम छ । 

सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो । असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो  ।

१६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । 
सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्