अनुत्तरित प्रश्न– ५० सांसद जिताउने पैसा लिन हङकङ पुगेका थिए त महरा ?
काठमाडौं– चिनियाँ नागरिक र व्यापारीसँगको अवैध सम्बन्धका कारण बिख्याती कमाइरहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको एउटा चर्चित संवादको अंश सतहमा आएको छ।
दोस्रो संविधानसभा निर्वाचनको चार दिनअघि मात्र उनले चिनियाँ व्यापारीसँग सम्वाद गरी सरकार बनाउनका लागि ५० सांसद जिताउने रकम लिन हङकङ जाने सहमति भएको अडिओको अंशको अहिले चर्चा भएको हो।
नौ किलो सुन प्रकरणमा महरासहित उनका छोरा राहुल महराको नाम जोडिएपछि पुराना किस्साहरूको चर्चा सुरु भएको छ। जबकि, महरा बाबुछोराले नै सुन प्रकरणमा संलग्नता अस्वीकार गरिरहेका छन्।
यसै मेसोमा दोस्रो संविधानसभा निर्वाचनको चार दिनअघि महरा र चिनियाँ व्यापारीबीच कुराकानी भएको संवादलाई नेपालका चल्तीका मिडियाले अहिले बजारीकरण गरिरहेका छन्।
जसमा महराले चिनियाँ व्यापारीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएर मात्र डिल फाइनल हुन सक्ने उत्तर दिएको उल्लेख छ। यति मात्र होेइन चिनियाँ व्यापारीसँग उनले हङकङमा नेपाली धेरै हुने भएकाले सिंगापुरमा भेट गर्न सकिने प्रस्ताव गरेको पनि विवरणमा खुलाइएको छ।
तर चिनियाँ व्यापारीका फाइनान्सर पार्टनरको सिंगापुर जाने प्रवेशाज्ञा नभएको र हङकङ नै सहज हुने विषयमा सहमति भएकोसम्मको अडिओ संवादको श्रृङ्खला सार्वजनिक भएको छ।
तर महरा हङकङ गए या गएनन्, माओवादीका लागि रकम ल्याएका हुन् या होइनन् भन्नेचाहिँ अहिलेसम्म पुष्टि भएको छैन। तर, चिनियाँ विवादीत व्यापारीसँग उनको निरन्तरको सम्बन्ध रहने गरेकोचाहिँ पछिल्ला प्रकरण, सीआईबीको रिपोर्टले खुलाएकै छ।