शेखर कोइराला भन्छन्,‘जता हेर्यो भताभुङ्ग छ, चित्त बुझाउने ठाउँ रहेन'
काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारका काम कारबाही हेर्दा चित्त बुझाउने ठाउँ नरहेको टिप्पणी गरेका छन् ।
नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिवार कोइरालाले यस्तो बताए ।
‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन’ कोइरालाले भने। कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताए । ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने रु’ कोइरालाले गुनासो पोखे ।
छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताए ।
कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरे। कार्यक्रममा सहभागीहरुले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।