Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ : पूर्वमहामन्त्री सिंह

शनिबार, भदौ २, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । 

“कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । 

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले कांग्रेसलाई बलियो र सशक्त राजनीतिक शक्ति बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । 

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टी सङ्गठनलाई गतिशील र चलायमान बनाउन सके अरु कुनै शक्तिले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । –रासस

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्